काठमाडाौँ । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरुको स्थलमार्गबाट उद्धार गर्न निःशुल्क यातायात सुरु गरेको छ । शुक्रबारबाट एउटा गाडीबाट सुरु गरिएको सेवाको पहिलो दिन २ जना बालबालिका, ९ जना महिला र ८ जना पुरुष गरी १९ जनालाई काठमाडौँ ल्याइएको महानगरले जनाएको छ ।
आज शनिबार थप २ वटा सवारी साधनबाट सेवा सञ्चालन गरिएको छ । २ वटामध्ये एउटा यसअघि रसुवादेखि काठमाडौँ यात्रु ओसार्ने ००६ ख ९३३९ नम्बरको गाडी हो । यसको क्षमता १९ सिटको छ । अर्को गाडी महानगरपालिकाको अनुरोधमा छत्रपाटी निःशुल्क चिकित्सालयले उपलब्ध गराएको ०३० च ७३६४ नम्बरको गाडी हो । यसमा १० जना यात्रु अट्टाउँछन् । निःशुल्क सञ्चालन गरिएका सवारी साधन चिन्नका लागि सवारी साधनको अगाडि र पछाडि व्यानर राखिएको छ । यस्तै दुवै सवारी साधनमा नगर प्रहरी राखिएको छ । यसरी सञ्चालन गरिएको सेवा आवश्यकताका आधारमा गाडीको संख्या बढाउने योजना रहेको महानगरपालिका जनाएको छ ।
सवारी साधनमा परिचालन गरिएका जनशक्तिलाई विपद व्यवस्थापनमा प्रोत्साहित गर्न महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, प्रवक्ता नविन मानन्धर, विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापा सभा गृहमा आएका थिए ।
वि.सं.२०८३ भदौ १३ शनिवार १४:३६ मा प्रकाशित






























