रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत दुई दिनदेखि निरन्तर प्रयास गरिरहेको छ। उद्धार कार्यअन्तर्गत शनिबार बिहानैदेखि सुरुङको प्रवेशद्वार खोल्ने कामलाई थप तीव्र पारिएको छ।
सुरुङभित्र मानिसहरू फसेको जानकारी प्राप्त भएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरी लेदो तथा भग्नावशेष पन्छाउँदै सुरुङको मुख खोल्ने प्रयास गरिरहेको हो।
सुरुङको मुख खोतल्ने तथा खोजी कार्यलाई तीव्र बनाउन शुक्रबार रातिदेखि नै नेपाली सेनाका ६२ जना तथा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका २० जना गरी ८२ जनाको संयुक्त टोली घटनास्थलमा निरन्तर खटिएको छ।
तर, प्रभावित क्षेत्रमा प्रतिकूल मौसम कायम रहेकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। लेदो र भग्नावशेषका कारण सुरुङसम्म पुग्न तथा भित्र प्रवेश गरी खोजी गर्न कठिनाइ भइरहेको बताइएको छ।
यसैबीच, उद्धार सहयोगका लागि नेपाल आएको भारतीय उद्धार टोली त्रिशूली पुगेको छ। भारतीय टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक हवाई अनुगमन (रेकी) गर्ने र त्यसबाट प्राप्त अवस्थाको मूल्याङ्कनका आधारमा आवश्यक थप उद्धार कार्य अघि बढाउने तयारी गरेको छ।
सरकारले सुरुङभित्र फसेकाहरूको उद्धारलाई उच्च प्राथमिकतामा राख्दै उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जनाएको छ।
वि.सं.२०८३ भदौ १३ शनिवार १४:५८ मा प्रकाशित




























