काठमाडौं । कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लामा बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।
यसैगरी, विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार तथा अनुगमन कार्यलाई थप प्रभावकारी बनाउन बैंकले करिब ३९ लाख रुपैयाँ बराबरका ५ वटा अत्याधुनिक एआईयुक्त निगरानी ड्रोन, ३ वटा ५ केभीए क्षमताका पोर्टेबल जेनेरेटर तथा १०० वटा पावर बैंक नेपाली सेनाको नुवाकोटस्थित क्याम्पमा हस्तान्तरणका लागि पठाएको छ।
हालैको विपद्बाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका जिल्ला प्रभावित भएका छन्। प्रभावित परिवारलाई राहत, खाद्यान्न, अस्थायी आश्रय तथा अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउन नेपाल सरकारसँग समन्वय गरी उक्त सहयोग प्रदान गरिएको बैंकले जनाएको छ।
कुमारी बैंकले विपद् तथा मानवीय संकटका समयमा समुदायप्रति सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको उल्लेख गर्दै यस सहयोगले प्रभावित समुदायको राहत, उद्धार तथा पुनःस्थापनामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
बैंकले विपद्को कठिन घडीमा प्रभावित समुदायप्रति गहिरो दुःख व्यक्त गर्दै सम्बन्धित निकायलाई राहत, उद्धार तथा पुनःस्थापनाका कार्यलाई थप प्रभावकारी बनाउन आग्रह गरेको छ। साथै, घाइतेको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ताको सुरक्षित खोज तथा उद्धारको कामना गरेको छ।
वि.सं.२०८३ भदौ १४ आइतवार १६:२७ मा प्रकाशित




























