काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा भूमिगत संरचनामा फसेका नेपाली तथा विदेशी इन्जिनियर, प्राविधिक र कामदारको उद्धारका लागि चीनले पठाएको विशेषज्ञ टोली नेपाल आइपुगेको छ।
शनिबार चीनबाट आएको उद्धार टोलीमा सुरुङ उद्धारमा विशेषज्ञता हासिल गरेका चार जना चिनियाँ जनमुक्ति सेनाका विज्ञ समेत रहेको बताइएको छ। समय बचत गर्दै उद्धार कार्यलाई तीव्रता दिन टोली हेलिकप्टरमार्फत केरुङ क्षेत्रबाट रसुवाको प्रभावित जलविद्युत् आयोजना क्षेत्रमा सिधै पुगेको नेपाली सुरक्षा स्रोतलाई उद्धृत गर्दै जनआस्थाले जनाएको छ।
चिनियाँ टोलीले प्रभावित क्षेत्रमा रहेका सुरुङ, विद्युत्गृह तथा बाढीले पुरिएका संरचनाको अवस्था अध्ययन गरी नेपाली उद्धार टोलीसँग समन्वयमा उद्धार कार्य अघि बढाउने तयारी गरेको छ।
यसअघि नै भारतबाट आएको ११ सदस्यीय विशेष प्राविधिक टोली पनि सुरुङ उद्धारमा परिचालित भइसकेको छ। नेपाल सरकारले सुरुङभित्र फसेका व्यक्तिको उद्धार, शव पहिचानका लागि डीएनए परीक्षण तथा शव व्यवस्थापनलगायत प्राविधिक सहयोगका लागि भारत र चीनसँग सहायता मागेको थियो।
वि.सं.२०८३ भदौ १३ शनिवार १५:४३ मा प्रकाशित






























