काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि नेपाल निर्माण व्यवसायी महासंघले उद्धार तथा राहत कार्यमा सहयोग गर्न सदस्य व्यवसायीहरूलाई अपिल गरेको छ।
महासंघले शुक्रबार जारी गरेको अपिलमार्फत बाढीबाट सबैभन्दा बढी प्रभावित रसुवा, नुवाकोटलगायत जिल्लाका विभिन्न स्थानमा तत्काल राहत सामग्री पुर्याउन तथा बाढीपीडितलाई उद्धार गरी सुरक्षित गन्तव्यसम्म लैजान पिकअप, मिनी ट्रक लगायतका सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायीहरूलाई आग्रह गरेको हो।
महासंघले मुलुक अत्यन्तै विषम परिस्थितिबाट गुज्रिरहेको भन्दै विपद्को समयमा पीडितको उद्धार र सहयोग गर्नु सबैको साझा दायित्व तथा मानवीय कर्तव्य भएको जनाएको छ।
महासंघका अनुसार पूर्वाधार विकास मन्त्रालयसँग आवश्यक समन्वय गरी ती सवारी साधनहरू उद्धार तथा राहतका लागि परिचालन गरिनेछन्। हजारौं बाढीपीडित प्रभावित क्षेत्रमा रहेकाले राहत सामग्री ढुवानी तथा उद्धारका लागि तत्काल थप सवारी साधन आवश्यक रहेको महासंघले जनाएको छ।
सवारी साधन उपलब्ध गराउन इच्छुक सदस्य व्यवसायीहरूलाई महासंघका महासचिव शिवहरि घिमिरे, (९८५१०६९७७१), नीतिगत उपमहासचिव मंगलबहादुर शाही, (९८५११२४४६४), प्रेम सिंह ऐर, कार्यालय प्रमुख (९८४१२६३५३९) र अभिनय दाहाल हेल्लो महासंघ (९७६८५४१५६२) को पदाधिकारी तथा कर्मचारीसँग सम्पर्क गर्न अनुरोध गरिएको छ।
महासंघका महासचिव शिवहरि घिमिरेले हस्ताक्षर गरेको अपिलमा बाढीपीडितको उद्धार तथा राहतका लागि निर्माण व्यवसायी समुदायलाई तत्काल सहयोगमा जुट्न आग्रह गरिएको छ।
वि.सं.२०८३ भदौ १३ शनिवार १५:३५ मा प्रकाशित






























