काठमाडौं । नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षण (एआइजी) दरबन्दी थप गर्न गृहमन्त्री बालकृष्ण खाँडले आनाकानी गरेको समाचार छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जर्नादन शर्माले सहमति दिने बताउँदा पनि गृहमन्त्रालयबाट फाइल अगाडि बढाउन आनाकानी गरिएको समाचार मंगलबारको नागरिक दैनिकमा छ ।
नेपाल प्रहरीमा पाँच एआइजीको दरबन्दी आवस्यक रहेको भन्दै प्रहरी प्रधान कार्यालयले गृहमन्त्रालयलाई आग्रह गरेको थियो । मन्त्रालयमा सो आग्रह गरेपछि प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्मालाई समेत प्रहरी प्रधान कार्यालयबाट आइजीपी शैलेश थापा क्षेत्रीसहितको टोलीले एआइजीको आवस्यकता र औचित्यबारे प्रष्ट पारेका थिए ।
तर मन्त्रालयको निर्देशन पछि पनि गृहमन्त्रीले उक्त फाइल अगाडि बढाउन आनाकानी गरेका छन् ।
प्रहरी प्रधान कार्यालयले पाँच एआइजीका लागि दरबन्दी थप्ने प्रस्तावसहितको संगठन सुपरिवेक्षण तथा व्यवस्थापन (ओएण्डएम) प्रतिवेदन गृह मन्त्रालयमा पठाएको छ । त्यसबारे गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयको संयुक्त कार्य दलले सो (ओएण्डएम) माथि छलफल समेत गरी टुंग्याएको छ ।
सबै प्रदेशमा सात एआइजी, प्रहरी प्रधान कार्यालयमा एक, प्रहरी प्रशिक्षण प्रतिष्ठानमा १ र महानगरीय प्रहरी कार्यालयमा १ गरी १० एआइजी दरबन्दी सिर्जना गरिएको छ । हाल नेपाल प्रहरीमा पाँच एआइजी रहेका छन् ।
वि.सं.२०७८ कात्तिक ९ मंगलवार ०९:०८ मा प्रकाशित






























