काठमाडौं । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुन विजयी भएका छन् ।
शनिवार सम्पन्न नेपाली कांग्रेसको प्रदेश अधिबेशनको निर्वाचनको आइतवार आएको मतपरिणाम अनुसार केन्द्रीय सभापति शेरबहादुर देउवा समूहका अमरसिंह पुनले ८५२ मत ल्याएर प्रदेश सभापतिमा विजयी भएका हुन् ।
कूल १६३१ मत खसेकोमा पुनले ८५२ मत ल्याएर विजयी भएका थिए भने उनका प्रतिश्प्रधी भरतकुमार शाहले ७६७ मत ल्याएर पराजित भएका थिए । शाहले भन्दा पुन मगरले ८५ मत बढी ल्याएर वियजी भएका हुन् ।
पूर्व राज्यमन्त्री समेत रहेका पुन मगर नेपाली कांग्रेस रोल्पाका निर्वतमान सभापति तथा संविधानसभा सदस्य समेत हुन् ।
त्यसैगरी प्रदेश सभापतिमा भुवन श्रेष्ठ, राजु खनाल विजयी भएका छन् भने महामन्त्रीमा विक्रम खनाल, महिला सहमहामन्त्रीमा निमा गिरी तथा खुल्ला सहमहामन्त्रीमा विष्णु खनाल मुस्कान र खगराज पाण्डे विजयी भएका छन् ।
लुम्बिनी प्रदेशसँगै शेर बहादुर देउवा समूहले कर्णाली र सुदूरपश्चिम गरी ३ प्रदेशमा आफ्नो वर्चस्व कायम गरेको छ भने पौडेल समूहका शुक्रराज शर्मा गण्डकी प्रदेशको सभापतिमा निर्वाचित भएका छन् ।
हालसम्म संस्थापन पक्षको सुदूरपश्चिम सभापतिमा वीर बहादुर बलाएर, कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही र लुम्बिनी प्रदेशमा अमरसिंह पुन विजयी भएका हुन् ।
नेपाली कांग्रेसको शनिवार सम्पन्न ६ प्रदेशको अधिबेशनको ४ प्रदेशको मत परिणामको नतिजा आइसकेको छ भने प्रदेश १ र बागमती प्रदेशको नतिजा केही समयमा आउने बताइएको छ । साथै विवादका कारण स्थगीत भएको प्रदेश २ को अधिबेशनको अझै टुंगो लागिसकेको छैन ।
वि.सं.२०७८ मंसिर २० सोमवार ०८:१७ मा प्रकाशित





























