काठमाडौं । नेकपा (एमाले)मा अध्यक्ष केपी शर्मा ओलीले नेताहरुको वरीयताक्रम निर्धारण गरेका छन् । महाधिवेशनबाट निर्वाचित नेताहरुलाई जिम्मेवारी तोक्दै ओलीले वरियताक्रम निर्धारण गरेका हुन् ।
ओलीले जिम्मेवारीअनुसार नेताहरुको वरियताक्रमलाई मिलाएका छन् । जिम्मेवारीअनुसार नेताहरुको वरियताक्रम तोक्दा महाधिवेशनबाट निर्वाचित नेताहरुको मतलाई भने उनले वेवास्ता गरेका छन् ।
ओलीले पूर्वमाओवादी नेता रामबहादुर थापा ‘बादल’लाई तेस्रो नम्बरको उपाध्यक्षको वरियतामा राखेका छन् । उनलाई कुटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षा विभागको जिम्मेवारी दिँदै वरियतामा तेस्रो तहको उपाध्यक्षमा राखेका हुन् ।
उनीभन्दा माथिल्लो उपाध्यक्षमा युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य छन् । ६ उपाध्यक्ष मध्ये सबैभन्दा बढी मत ल्याएर विजयी भएका मध्येका सुरेन्द्रप्रसाद पाण्डेलाई उनले वरियतामा छैठौं नम्बरको उपाध्यक्ष बनाएका छन् ।
ओलीले विष्णुप्रसाद पौडेललाई चौथो र सुवासचन्द्र नेम्वाङलाई पाँचौं तहको उपाध्यक्ष बनाएका छन् ।
वरियता क्रमप्रति नेताहरु असन्तुष्ट
ओलीले तोकेको वरियताक्रमप्रति नेताहरु असन्तुष्टी देखिएको छ । सबैभन्दा कम मत ल्याएर विजयी भएका बादललाई तेस्रो बनाउनु र सबैभन्दा बढी मत ल्याएर विजयी भएका मध्येका पाण्डेलाई सबैभन्दा मुनिको उपाध्यक्ष बनाउनुप्रति नेताहरु असन्तुष्ट छन् ।
ओलीको पछिको म हुँ भन्ने सुवासचन्द्र नेम्वाङलाई ओलीले ५ औं नम्बरको उपाध्यक्ष बनाएका छन् । जिम्मेवारीको रुपमा संसदीय मामिला तोकेपनि तहगत रुपमा पाँचौं बरियतामा राखिएको प्रति उनी निकै असन्तुष्ट भएको बुझिएको छ ।
महाधिवेशनको दौरान नेम्वाङले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलको नाम राख्दा आपत्ति जनाएका थिए । उनले आफुँ ओली पछिको सिनियर भएको दाबी गरेका थिए ।
वि.सं.२०७८ पुस २ शुक्रवार १२:०५ मा प्रकाशित






























