
काठमाडौं । प्रतिनिधिसभामा एजेण्डा बिनै एमालेबाट भइरहेको अवरोधप्रति एमालेकै नेताहरु आक्रोशित हुन थालेका छन् । एमालेका पूर्वउपाध्यक्ष एवं सांसद भीम रावलले कारण बिनै भइरहेको अवरोधप्रति खुला रुपम विरोध जनाउन थालेका छन् ।
रावलले संसद अवरुद्ध गर्ने काम तत्कालै सच्याउनुपर्ने धारणा राखेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत शुक्रबार रावलले एमालेको शैलीले देश कमजोर हुँदै गएको बताए ।
उनले एमालेको शैलीका कारण राष्ट्रिय सरोकारका महत्वपूर्णं विषयमा समेत सांसदहरुबीच छलफल हुन नपाएको बताए । जुन देश कमजोर पार्ने कारण बनिरहेको उनको भनाई छ ।
‘संसदमा राष्ट्रियता, जनसरोकार, अर्थतन्त्र र विकाससम्बन्धी विषयमा सांसदहरूले बोल्न र छलफल गर्न नपाउने तर महत्वपूर्ण विषय र कानून होहल्लाको बीचमा सरकारले चाहे अनुसार खुरूखुरू पारित गर्न दिने नीति र कार्य देश, जनता र लोकतन्त्रको विरूद्धमा हुन्छ, यस्ता क्रियाकलापले देश कमजोर हुँदै जान्छ’, रावलले भनेका छन् ।
रावलले यसअघिदेखि नै संसद अवरुद्ध गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशन गलत रहेको भन्दै विरोध जनाईरहेका थिए । रावलले पार्टी अध्यक्षले हठ छाड्नुपर्ने बताएका थिए ।