
डोल्पा । गत सोमबारदेखि डोल्पाको जैरी गार्ड पावर हाउसको टर्वाइन बिग्रिएपछि विद्युत सेवा अवरुद्ध भएको छ । सदरमुकाम दुनै लगायत ठुलीभेरी नगरपालिकाका अधिकांश गाउँ र त्रिपुरासुन्दरीका केही गाउँहरुमा एक हप्तादेखि बत्ति छैन । बत्ति नहुँदा जनजीवन कष्टकर भएको त छ नै सरकारी सेवाहरु समेत अवरुद्ध हुने अवस्थामा पुगेका छन् ।
पुस महिना लागेसँगै हिमाली जिल्ला डोल्पामा हिउँ पर्नुको साथै चिसो अधिक बढेको छ । घाम धेरै नलाग्ने र बत्ति पनि नभएका कारण जनजीवन कष्टकर बनेको स्थानीय रणवहादुर कार्कीले जानकारी दिए । ‘बत्ति बन्ने अत्तोपत्तो छैन चिसो बढिरहेकोले निकै समस्या झेल्नु परेको छ ।’ कार्कीले भने, ‘यो समस्या पहिलो पटक होइन, जैरीगार्डको बत्ती पटक पटक बिग्रने गर्छ, स्थानीय समुदायले जनप्रतिनिधिदेखि नेपाल विद्युत प्राधिकरणलाई अनुनय विनय गर्दा पनि समस्या समाधान भैरहेको छैन ।
डोल्पाको विद्युत समस्यालाई लिएर ब्यापक जनगुनासो आएपछि यसबारे नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेश सुर्खेत कार्यालयका प्रमुख शम्भु कुशेत यादवसँग प्रतिकृया माग्दा उनले गत पुस १२ गते जैरी गार्ड पावर हाउसमा रहेको टर्वाइनको सापट भाँचिएर विद्युत सेवा अवरुद्ध भएको बताए । ‘मैले गम्भीररुपमा चाँडोभन्दा चाँडो सेवा सुचारु गर्न पहल गरिरहेको छु’, प्रमुख यादवले बताए ।
‘टरवाइनलाई प्लेनबाट झिकाएर बुटवलमा मर्मतका लागि पठाइएको छ र काम सुचारू समेत भैसकेको छ ।’ कहिलेसम्म बन्छ त टरवाइन भन्ने प्रश्नमा प्रमुख यादवले, ‘टरवाइन १ हप्ता पहिले विग्रियो । ५ दिनसम्म मौसम खरावीका कारण प्लेन नचलेर ल्याउन सकिएन । हाल बुटवलमा मर्मतको काम जारी छ । टेक्निसिएनले १५ दिन लाग्छ भनेको छ । तर मैले जतिसक्दो चाँडो बनाउन पहल गरिरहेको छु ।’
डोल्पाको यो पावर हाउसमा पटक पटक समस्या देखिएर विद्युत सेवा अवरुद्द हुँदा जनताले सास्ती खेप्नु परेको छ । दिर्घकालिन समस्या समाधानका विषयमा सम्बन्धित निकायले गम्भिर भएर सोच्न आवश्यक देखिएको छ । प्रमुख यादवले आफु डोल्पाको विद्युतमा देखिएको समस्याप्रति गम्भिर भएको बताए । ‘म ४ दिन जति भयो यस कार्यालयमा हाजिर भएको तर मैले यहा‘को समस्यालाई गम्भिरताका साथ लिएको छु’, यादवले अगाडि भने, ‘तत्कालका लागि टर्वाइन मर्मत गरी १०–१५ दिनमा विद्युत सुचारु गर्छु, त्यसपछि म डोल्पामा नै पुगेर अनुगमन गरी दिर्घकालिन उपाय निकाल्ने योजना छ ।’
डोल्पामा विजुली नहुँदा सरकारी सेवा, बैंकका कामहरु लगायत अन्य सेवा ठप्प हुने अवस्थामा पुगेका छन् । उता जाजरकोटदेखि डोल्पासम्म राष्ट्रिय प्रशारण लाइन जोड्ने ठेकेदार नै बेपत्ता भएको बुझिएको छ । नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेश सुर्खेतले दिएको जानकारी अनुसार करिव ९ करोडमा सप्तागिरि नमुना जेभीले ठेक्का पाएको थियो । हाल छेर्गार कम्पनी सम्पर्कमा नभएको र अब अनुगमन गरेर काम नगरेको पाइए ठेक्का रद्द गर्ने कार्यालयको भनाइ छ ।