काठमाडौं । नारायणहिटी प्रकरणबारे अध्ययन गर्न गठित छानबिन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्रीलाई प्रतिवेदन बुझाएको छ । सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा गठित समितिले सोमबार मन्त्री आलेले आफ्नो प्रतिवेदन बुझाएको हो ।
समितिले ठेक्का प्रक्रिया नै गलत भएको निष्कर्ष निकाल्दै क्याफेको संरचना निर्माण तत्काल रोक्न सिफारिस गरेको छ । समितिले ठेक्का प्रक्रिया नै मिलेमतोमा भएको निष्कर्ष निकालेको छ ।
ठेक्का प्रक्रियामा संलग्न तीन वटा संस्था बतास समूहकै हुनु र बजार मूल्यभन्दा निकै कम मूल्यमा दिइनुले मिलेमतो भएको देखिएको निष्कर्ष समितिको छ ।
ठेक्का सम्झौतामा क्याफे निर्माण गर्न क्षेत्र स्पष्ट नपारिएको, सम्झौतामा उल्लेख नै नभएको क्षेत्रमा जानकारी बिनै निर्माण कार्य अगाडि बढाइएको, सामान्य तोकिएको क्षेत्रभन्दा अधिक क्षेत्रमा निर्माण गरिएको जस्ता कुरा औंल्याइएको छ ।
प्रतिवेदनमा बतास समूहले १४ रोपनीभन्दा बढी क्षेत्रफलमा निर्माण गतिविधि गरिरहेको पाइएको बताइएको छ ।
सञ्चार माध्यमले नारायणहिटी संग्राहलय क्षेत्रमा बतास समूहले अवैधानिक रुपमा निर्माण कार्य अगाडि बढाइरहेको समाचार छापेसँगै मन्त्री आले एक्सनमा उत्रिएका थिए । उनले मन्त्रीस्तरीय निर्णयबाट निर्माण प्रक्रिया रोकेका थिए भने समिति नै गठन गरेर ठेक्का प्रक्रियाबारे छानबिन अगाडि बढाएका थिए ।
वि.सं.२०७८ पुस २६ सोमवार १६:५२ मा प्रकाशित






























