
काठमाडौं । अफगानी जनताका लागि मानविय सहायता सामग्री बोकेर नेपाली टोली कावुलतर्फ प्रस्थान गरेको छ ।
अफगानि जनताका लागि सहायता समाग्री बोकेर नेपाली टोली आज कावुल प्रस्थान गरेको हो ।
हिमालयन एयरलाइन्सको जहाजबाट कावुल उडेको उक्त जहाजमा औषधि, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामग्री रहेका छन् । उक्त टोलीले त्यहाँ स्थित संयुक्त राष्ट्रसंघको कार्यालयमा समाग्री छोडेर आजै स्वदेश फर्किने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सममेलनमा मन्त्री खड्काले जानकारी दिएका छन् ।
संयुक्त राष्ट्र संघको त्यहाँस्थित कार्यालयले उपलब्ध गराएको सूची अनुसारका झण्डै १४ टन सामग्री जहाजमा रहेको पनि मन्त्री खड्काले पत्रकार सम्मेलनमा जानकारी दिए ।
‘हामी ठूला प्राकृतिक तथा दैविक विपद्मा विभिन्न राष्ट्र तथा निकायबाट सहयोग त लिन्छौं, तर पनि यस कार्यले नेपाल सदैव सहयोग लिने मात्र होइन, आवश्यक पर्दा अन्य राष्ट्रलाई सहयोग गर्न पनि पछि पर्दैन भन्ने सन्देश जानेछ ।’ मन्त्री खड्काले भने ।
मन्त्री खड्काले उक्त सामग्री कावुल पुर्याउन हिमालयन एयरलाईन्सले निःशुल्क सेवा दिएको जानकारी दिँदै सामग्रीहरु समेत व्यवसायीले उपलब्ध गराएको बताए । उनले उक्त कार्यका लागि संयुक्त राष्ट्र संघ, महावााणिज्य दूत, नेपालका उद्योगी, व्यवसायी, हिमालयन एयरलाइन्स, नेपाल आयल निगमलगायतको सहयोग रहेको समेत बताए ।
अफगानिस्तानमा गतवर्ष अगस्टमा तालिवान शासन स्थापना भएपछि त्यहाँ ठूलो मानविय संकट उत्पन्न भएको छ । संयुक्त राष्ट्र संघले बारम्बार अफगानिस्तानमा मानविय संकट बढ्दै गएको भन्दै सहयोगको आव्हान समेत गरिरहेको छ । व्याप्त आर्थिक सङ्कट उत्पन्न भएसँगै त्यहाँका कयौ उद्योगधन्दाहरु समेत बन्द भएका छन् ।