काठमाडौं । आन्तरिक विवाद चलिरहेको जनता समाजवादी पार्टी (जसपा)भित्र एमसीसीको विषयले थप भाँडभैलो मच्चिएको छ । पार्टीभित्र निर्णय नै नभएको एमसीसीमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एक्लै अभियान चलाए पछि भाँडभैलो मच्चिएको हो ।
भट्टराईले पार्टी विभाजनकै योजनाअनुसार एमसीसीको पक्षमा अभियान चलाएको अध्यक्ष उपेन्द्र यादव पक्षको निष्कर्ष छ । एक सांसद मात्रै भएका भट्टराईले एमसीसीकै अभियानमार्फत यादव पक्षीय सांसदहरुलाई समेत प्रभावमा पारेका छन् ।
जसपाका केन्द्रीय नेता दिलबहादुर नेपालीले भट्टराईको शैली पार्टी विभाजन लक्षीत देखिएको बताए । पार्टी विधि, विधान र निर्णय विपरित हिँड्ने भट्टराईलाई कारबाही गर्नुपर्ने कुरा धेरै नेताहरुले उठाएको उनले बताए ।
“उहाँ (भट्टराई) विधि र विधानभन्दा माथि हुने स्वभावको हुनुहुँदो रहेछ, एमसीसीको विषयमा पनि उहाँले त्यसैगरि बोल्नुभयो, सायद यो अभियान विभाजन गराउने उद्देश्यअनुरुप देखिन्छ”, नेता नेपालीले भनेका छन्, “गलत उद्देश्यअनुसार अगाडि बढ्ने भट्टराईमाथि कारबाही हुनपर्छ, हामीले प्रष्टैसँग उहाँमाथि कारबाही हुनुपर्छ भनेका छौं ।”
भट्टराईले “एमसीसीको समर्थक र विरोधी एउटै गठबन्धन र सरकारमा बस्न मिल्दैन” भनेर दिएको अभिव्यक्तिले पनि जसपामा थप समस्या सिर्जना गराएको छ । उनले दिएको अभिव्यक्तिले सत्ता गठबन्धन नै विभाजन गराउने चिन्ता देखिएको छ ।
अहिलेसम्म पनि जसपाले एमसीसीको विषयमा आधिकारिक धारणा बनाएको छैन् । तर, भट्टराईले भने एक्लै एमसीसीको पक्षमा अभियान चलाईरहेका छन् । उनले एमसीसी निःशर्त पास हुनपर्छ भनिरहेका छन् ।
एमसीसीसँगै जसपा विभाजन निश्चित
महन्थ ठाकुर पक्ष बाहिरिएदेखि नै जसपाभित्र समस्या देखिएको थियो । मन्त्री छनोटदेखि सम्मानजनक भागवण्डा नभएको भन्दै भट्टराई पक्षले अध्यक्ष उपेन्द्र यादवको विरोध गर्दै आएको थियो । पछिल्लो राष्ट्रिय सभा सदस्यको लागि भएको निर्वाचनमा यादवले पक्षले पेलेको भन्दै भट्टराई पक्ष निकै आक्रोशित भएको छ ।
राष्ट्रिय सभा निर्वाचनसँगै भट्टराई पक्ष बेग्लै पार्टी अभियानमै समेत जुटेको देखिन्छ । पछिल्लो समय भट्टराई पक्षले पार्टी अध्यक्ष नपाए जसपामा नरहने तयारी थालेको छ । पार्टीभित्रको विवादमा एमसीसीको विषयलाई उचालेर नेतृत्व हत्याउने दाउ भट्टराईले खेलेका जसपाका नेताहरु बताउँछन् ।
“उहाँहरु एमसीसीमा गुप्रिङ्ग गर्दै हुनुहुन्छ, सायद एमसीसीकै कारणलाई देखाएर विभाजन तिर जाने ध्याउन्नमा हुनुहुन्छ”, जसपाका एक नेताले भनेका छन्, “२/४ दिनमै त्यसको नतिजा देखिन सक्छ ।”
पार्टीभित्र निर्णय नभएको भए पनि यादव पक्ष संशोधन बिना एमसीसी पारित गर्न नहुने अडानमा छ । निर्णायक अवस्थामा यादव पक्षले एमसीसीको विपक्षमा मत हाल्ने र भट्टराई पक्षले एमसीसीको पक्षमा मत हाल्ने अवस्था आउने नेताहरु बताउँछन् । एमसीसीमा मत विभाजनसँगै जसपाभित्र विभाजनले औपचारिकता पाउन सक्ने नेताहरुको भनाई छ ।
हिसियामार्फत पार्टी दर्ताको तयारी
जसपा उच्च स्रोतले बताएअनुसार पार्टी अध्यक्षको पद मागिरहेका भट्टराई बेग्लै पार्टी अभियानमा छन् । उनले आफ्नी पत्नी हिसिया यमीमार्फत पार्टी दर्ताको प्रक्रिया नै अगाडि बढाएका छन् ।
जसपाभित्रको विवाद चरमतामा पुगेका बेला यमीले पार्टी दर्ताको प्रक्रिया बुझ्न निर्वाचन आयोग नै पुगेको नेताहरु बताउँछन् । बताइएअनुसार नेतृ यमी ‘समावेशी लोकतान्त्रिक पार्टी’ दर्ता गराउने तयारीमा जुटेकी छिन् । एमसीसीको विषयले निर्णायक अवस्था बनाएसँगै पार्टी दर्ता गर्ने योजनामा भट्टराई रहेको नेताहरुको भनाई छ ।
वि.सं.२०७८ फागुन ५ बिहीवार १३:१२ मा प्रकाशित






























