Logo
३० श्रावण २०७९, सोमबार
     Mon Aug 15 2022
E-paper
  English Edition
   Unicode
Logo

१२ वर्षमा पनि फर्किएन रेश्माको खुसी



reshma

भनिन्छ बाह्र वर्षमा खोलो फर्कन्छ । तर प्युठान ७ तोरवाङ भण्डारीपोखराकी रेश्मा केएमको खुसी बाह्र वर्षमा पनि फर्कन सकेन । भारतमा ज्यामी काम गर्न गएका बाबु नुमबहादुर घरको छतबाट खसेर बाह्र वर्षदेखि जीवन मरणसँग लडिरहेका छन् । जव बाबु ज्युँदो लाश बनेर घर फर्किए तव उनकी आमाले घर छोडिन् । घर मात्र छोडिनन् पति छोडिन् भविष्यका कर्णधार छोराछोरी छोडिन् । घर छोडेर गएपछि आफूले नदेखेको भए बरु रेश्माको मन बुझ्थ्यो होला । विडम्बना उनी घर नजिकै एउटा टहरो बनाएर बसिन् र बारम्बार श्रीमान र छोराछोरीलाई गाली गरिरहिन् । आफुलाई नै जन्माउने आमाले रक्सी खाएर होहल्ला गर्दै आफू, भाइबहिनी र अपाङ्ग बाबुमाथि गरेको अत्याचारले रेश्मालाई मर्नु न बाँच्नुको स्थिती नपु¥याएको होइन कयौंपटक । तर पनि उनले साहस जुटाइन र लागिन् जागिरको खोजिमा । जनजाती बस्ति त्यसमा पनि अशिक्षितको बाहुल्यता । समाजमा पढेका मान्छे काम लाग्दैनन् भन्ने मानसिकता बोेकेको समाजले रेश्मालाई पनि आँखाको कसिङ्गर ठान्यो र बारम्बार रेश्माको शिक्षामाथि धावा बोलिरहयो ।
तर पनि उनी समाजदेखि डटिनन् । एसएलसी, आईए र बिएड सम्मको अध्ययन सकाइन । अहिले उनी ६ वर्षदेखि स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसिडिपी) को सामाजिक परिचालिका भएर काम गर्दै आइरहेकी छिन् । अशिक्षित समाजलाई शिक्षित बनाउन धेरै कोशिष गरीन् तर व्यर्थमा खेर गयो रेश्माको प्रयास । उनी भन्छिन् ‘मेरो समाजलाई मैले बुझाउनै सक्दिन । मलाई मेरो समाजले त्यत्तिबेला बुझ्छ जतिबेला म उनीहरुसँग रक्सि खाएर होलल्ला गर्छु, गाउँमा काम नगरेर उनीहरुसँगै बसेर एकअर्काको कुरा काट्छु, एउटा जँड्या केटा खोजेर बिहे गर्छु अनि दुःख पाएपछि दुःख पोख्न आइपुग्छु । त्यत्तीबेला बुझ्छ मेरो समाजले । तर मेरो लक्ष्य सरकारी अधिकृत बन्ने छ । कहाँ मिल्न सक्छु र म मेरो समाजसँग ? यति दवावका बीच पनि नझुक्ने रेश्मालाई संसार न्युजले फेरि भेट्ने मौका पायो । उनको परिवार र बुबाको विषयमा यो पहिला नै कथा लेखिसकेको यो सम्वादाताले यो पटक रेश्मा लक्ष्य र भावी योजनाका विषयमा यसरी समेट्ने कोशिष ग¥यो:

भाइबहिनी अहिले मेरो पक्षमा छन्
केही वर्ष पहिला त भाइबहिनीहरुले मलाई बुझेनन् । उनीहरु पनि छिमेकीसँग रक्सी खाएर म सँग झगडा गर्न आउँथे । पछि मैले धेरै सम्झाएँ । त्यसपछि उनीहरुले मलाई बुझेका छन् । ठूलो भाइलाई सिलाई बुनाईको काम सिकाए, मेसिन किनिदिएँ । अहिले ऊ घरमै कपडा सिलाउँछ । कान्छो भाइ एसएलसीको तयारी गर्दै छ भने कान्छी बहिनी आठ कक्षामा पढ्दै छिन् ।

14573013_217453895339984_8576697745595528622_n

हजुरबुबा, बुबा र भाइबहिनीको साथमा रेश्मा 

हजुरबा र बुबाको हेरचाह ठुलो भाइले गर्छ
जव भाइले सिलाई कटाइको काम सिकेर काम सुरु ग¥यो त्यसपछि उसले हजुरबा र बुबाको हेरचार पनि गरिरहेको छ । कपडा आएको बेलामा कपडा सिलाउँछ । बुबाहरुको रेखदेख गर्छ । फुर्सद भएको बेलामा फर्निचरको काम पनि गर्छ । जे होस पहिला भन्दा अहिले अलि सजिलो भएको छ । तर हाम्रो टोलका मानिसहरुले कपडा सिलाउन आउनेलाई बाटोबाटै फर्कादिन्छन् त्यसको नजाऊ भनेर । तै पनि कहिले काँँही काम आउँछ ।

समय मिलाउनै गाह्रो छ
गाविसबाट परेका आयोजनाहरुको पनि उपभोक्ता समिति गठन गर्नु पर्ने, वडा नागरिक मञ्चमा विभिन्न क्रियाकलाप गर्नुपर्ने भएकोले समय व्यवस्थापन गर्न गाह्रो भइरहेको छ । म सामाजिक परिचालिका हुनाले गाउँ गाउँमा उपभोक्ता समिति गठन गर्न जानुपर्छ । समिति गठन भइसकेपछि सामाजिक परीक्षणको लागि जानुपर्छ । जे होस् धेर थोर घर खर्च चलेको छ । जागिर देखेपछि मान्छेले परेको बेलामा ऋण पत्याएका छन् ।

reshma1

समुहका सदस्यहरुलाई प्रशिक्षित गर्दै रेश्मा 

त्यसको जागिर किन बचाउने भन्छन्

मैले मेरो बस्तिका १० घरका मानिसहरुलाई समुहमा ल्याउन धेरै कोशिष गरें । उनीहरुलाई चिठी पठाउँथे, आफैं गएर खवर गर्थें तर उनीहरु कहिले पनि मैले गठन गर्न लागेको समूहमा सहभागी हुन आएनन् । त्यसको जागिर बचाउन किन जाने ? सम्म भने । गाउँमा खानेपानीको असाध्यै अभाव छ केन्द्रंबाट पाँच वडालाई समेटेर ५ करोडको योजना परेको छ । तर हाम्रो वडाका मानिसहरुलाई त्यो योजनामा सहभागी गराउन नसक्दा योजना नै असफल हुने हो कि भन्ने डर छ । किनभने उनीहरु मैले सहभागी गराउने समुहमा सहभागी हुन जाँदैनन् ।

घर खाली गर् भन्छन्
मेरो समाज यति अशिक्षित छ कि सायद अन्त कतै यस्तो छैन जस्तो लाग्छ । म मेरो घरमा बसेको छु । रोगी हजुरबा र बुबाको सेवा गरेकी छु । तर समाजले मेरो कामलाई सम्मान गर्नुको साटो अपमान गरिरहेका छन् । यतिसम्मकी तँ बिहे गरेर किन जान्नस् ? घर खाली किन गर्दिनस् ? अरुका छोरीहरुले नपढेर भएको छ तैंले किन पढ्नु प¥यो ? के कारण छ तैंले विहे नगर्नुको ? यावत दवाबहरु आइरहेका छन् । मलाई समाजले सहयोग गर्ला भन्ने त परै जाओस मैले समाजलाई सहयोग गर्छु भन्दा पनि उल्टै समाज मेरो विरुद्धमा आइलाग्छन् ।

मेरो अन्तिम लक्ष्य अधिकृत बन्ने हो
मेरो लक्ष्य भनेको लोकसेवा पास गर्नु हो । सुरुमा खरीदारमा भए पनि नाम निकाल्न मात्र पाए हुन्थ्यो जस्तो लागेको छ । तर मेरो अन्तिम लक्ष्य भनेको सरकारी अधिकृत बन्ने हो । थाहा छैन कति सफल हुन्छु । अर्काे कुरा मलाई डिग्री पढ्ने असाध्यै रहर छ । मेरो विषय अंग्रेजी भएको हुनाले प्युठानमा अंग्रेजी विषयमा पढाइ हुँदैन । कि त आउनु प¥यो बुटवल, कि दाङ त कि काठमाण्डौं । यी ठाउँमा आउन मेरो सम्भव नै छैन । किनकी मैले घरको जिम्मेवारी सम्हाल्नु छ ९४ वर्षीय रोगी हजुरबुबा र अपाङ्ग बुबालाई औषधि उपचार गर्नुपर्ने छ । म काठमाण्डौं आएभने भएको सानो जागिर पनि छोड्नु प¥यो । भाइबहिनीको भविष्य के होला ? मेरै जागिरले उनीहरुको स्कुलको फि बुझाउनु छ । त्यसले गर्दा डिग्री पढ्ने मेरो सपना पूरा हुन गाह्रो छ । जे होस बि.एड सम्म त जसोतसो पास गरें । अव सरकारी सेवामा नाम निकाल्न पाए मलाई अरु केही चाहिने थिएन जस्तो लाग्न थालेको छ ।

आफ्नो लक्ष्यमा दृढ
म आफ्नो लक्ष्यमा दृढ छु । किनभने मलाई समाज परिर्वतन गर्नुछ । समाजका मान्छेहरुलाई परिवर्तन गराउनुछ । समाजले मलाई जति नकारात्मक सोंचे पनि मैले सँधै सकारात्मक सोच्नेछु ।

प्रस्तुती: संगीता पनेरु 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

कोरोना कहर पछाडि विस्तारै तंग्रदै गरेको अर्थतन्त्रमा केही आशाका किरण पनि देखा पर्न थालेका

काठमाडौं । एक पछि अर्को गर्दै पार्टी परिवर्तन गरिरहेका नेपाल समाजवादी पार्टीका संयोजक डा.