काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय गोल्डमेडलका बिषयमा निकै बिबादीत बन्दै आएको छ । पटक पटक अदालतले यस्तो कार्य नगर्नु भन्दा पनि अदालतको आदेश तथा फैसला नमानी अदालतको अवहेलना गरिहेको पूर्वाञ्चल विश्वविद्यालय गोल्डमेडलका बिषयमा निकै बिबादीत बनेको हो ।
पूर्वाञ्चल विश्वविद्यालयको दशौं दिक्षान्त समारोह यही २०७९ बैशाख ४ गते हुन गइरहेकोमा कानून संकायतर्फ एल.एल.एम. २०१८–२०२० ब्याचमा सर्वोत्कृष्ट अङ्क ल्याउने मनिता गुरुङ एग्रिगेट नम्बर ८३.१२ ल्याइ प्रथम श्रेणीमा प्रथम हुन सफल भएकी छन् । तर, पनि यस विश्वविद्यालयले लबधाङ्कपत्रमा एग्रिगेट नम्बर ७६.२५ ल्याएको ब्यक्तिलाइ शिफारीस गरेको बिद्यार्थीहरुले बताएका छन् ।
पूर्वाञ्चल विश्वविद्यालयको वेभसाईट www.puexam.edu.np मा प्रकाशित गरेकोMedal list of exam year 2020 (२०७७) को क्रम संख्या अन्तिम नामावली २०७९ बैशाख १ गतेका दिन दोस्रोपटक संशोधन गर्दा पनि सोही व्यहोरा राखिएकोले पूर्वाञ्चल विश्वविद्यालयले ठूलो त्रुटी गरिरहेको बताईएको छ ।

यसरी हुन्छ धांधली
संसारन्यूजमा आएको जानकारी अनुसार मनिता गुरुङले शैक्षिक वर्ष २०१८–२० को दुईवर्षे एल.एल.एम. (Business and International Trade law) मा चक्रवर्ती हवी इजुकेशन अफ ल विद्यालयमा अध्ययन गरी २०७८ पौष १८ गतेका दिन विश्वविद्यालयले तोकेको समयभित्रै मौखिक परिक्षा (Viva Voce) समयभित्र पूरा गरी एल.एल.एम. कार्यक्रममा एग्रिगेट ८३.१२% ल्याई प्रथम श्रेणीमा प्रथम भएकी थिइन् । प्रथम हुँदा पनि विश्वविद्यालयले लापरवाही गरी विद्यार्थीको भविष्यमा खेलवाड गरी स्वर्ण पदकका लागि अन्यलाई सिफारिस गरेकोमा पटक–पटक अध्ययन गरेको कलेज तथा व्यक्तिगत निवेदन समेत लिई मिति २०७८।१२।२८ को दिन दर्ता नं. ४९ मार्फत दर्ता गराई दावि विरोधको लागि जाँदा सम्बन्धित कार्यालयका कर्मचारीहरुलाई मिति २०७८।१२।२२ को स्वर्ण पदकको सिफारिसमा त्रुटी भएको र मनिता आफैले पाएको ८३.१२% को प्रमाण समेत देखाउँदा पनि कर्मचारीहरुले समितिको निर्णयमा कुनै पनि फेरबदल हुँदैन भनि अव्यवहारिक जवाफ दिएर पठाई विद्यार्थीलाई दुःख हैरानी दिई रहेको जनाईएको छ ।
‘विश्वविद्यालयको यस्तो कार्यले गर्दा मेहनती, जेहेन्दार विद्यार्थीको भविष्यमा ठूलो असर पर्ने तथा यसको असरको क्षति विश्वविद्यालयले पनि पूर्ति गर्न नसक्ने हुनाले यसमा सजग गराउँदा पनि अटेर गर्नुको कारणमा केही आर्थिक चलखेल शंका गर्ने पूर्ण आधार देखिन्छ । ’ एक अभिभावकले भने ।
अदालत पनि टेर्दैन बिश्वबिद्यालय
पूर्वाञ्चल विश्वविद्यालयको त्यस भन्दा अगाडिका नवौं दिक्षान्त समारोहहरुमा शैक्षिक वर्ष २०१५–२०१७ मा एल.एल.एम.मा उत्कृष्ट प्राप्ताङ्क ल्याउने विनिता पाण्डेलाई नदिई कूल ८१% ल्याउनेलाई स्वर्ण पदक दिइएकोमा अदालतले २०७७ माघ ८ गतेका दिन विश्वविद्यालयले गरेको गलत कार्यलाई बदर गरी नियम संगत गर्नको लागि फैसला गरेको थियो ।
त्यसैगरी सातौं दिक्षान्त समारोह एल.एल.एम.को शैक्षिक वर्ष २०१४–१६ मा उत्कृष्ट अङ्क ७७.३८% ल्याउने सुभाष आचार्यलाई नदिई ७६.५०% ल्याउनेलाई स्वर्ण पदक दिएर विश्वविद्यालयले विवाद ल्याएको थियो । जसमा सर्वोच्च अदालतको उत्प्रेषण समेतको आदेशले बदर गरी कानून सम्मत श्री सुभाष आचार्यलाई स्वर्णपदक दिलाएको थियो ।
त्यसैगरी नवौं दिक्षान्त समारोहमा २०१४–२०१६ र २०१५–२०१७ को एल.एल.एम.तर्फ क्रमश विनिता पाण्डेको उत्कृष्ट नम्बर हुँदाहुँदै र महेन्द्र प्रसाद पौडेलको उत्कृष्ट नम्बर हुँदाहुँदै अरुलाई स्वर्ण पदक दिइएकोमा अदालतले निजहरुलाई पदक प्रदान गर्न इन्कार गरेको सम्बन्धी प्रत्यार्थी पूर्वाञ्चल विश्वविद्यालयको निर्णय, काम, कारवाही तथा सूचना समेत उत्प्रेषणको आदेशले बदर गरेको थियो । यस सम्बन्धमा थप जानकारीको लागी बिश्वबिध्यालयमा संपर्क गर्न खोज्दा संपर्क हुन सकेको छैन ।
अंक ल्याउने मनिताहरुलाई न्याय कस्ले दिने
एउटा जेहेन्दार, मिहेनती, लगनशील र इमान्दार विद्यार्थीले म उत्कृष्ट छु भन्ने प्रमाण परिक्षामा सर्वोकृष्ट अंक ल्याई प्रमाणीत गर्दा पनि र विश्वविद्यालयले त्यसको विरुद्ध काम गरिरहेको छ । कारवाही गरिरहेको जानकारी गराउँदा समेत त्यसको बेवास्ता गरी र पटक–पटक अदालतले यस्तो काम नगर्नु, नगराउनु भन्ने आदेश तथा फैसला गर्दा पनि यस्ता कार्य दोहरी रहनुलाई पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५० को दफा १० बमोजिम बनेको प्राज्ञिक परिषद समितिका पदाधिकारीहरु आर्थिक प्रलोभनमा परेका छैनन् भन्ने ठाउ नभएकोले मन्त्रालय र सरोकारवालाको तत्काल ध्यानाकर्षण भै गलत काम रोक्नुपर्ने आवाज सम्बन्धित पक्षको रहेको छ । पढेर सर्वोत्कृष्ट अंक ल्याउने मनिताहरुलाई न्याय कस्ले दिने भन्ने बिषय टड्कारो बनेको छ ।
वि.सं.२०७९ वैशाख २ शुक्रवार १७:२२ मा प्रकाशित






























