काठमाडौं । नेकपा (एकीकृत समाजवादी)लाई पोखरा महानगरको मेयर दिने निर्णयविरुद्व नेपाली कांग्रेसभित्र चर्को असन्तुष्टि देखिएको छ । कांग्रेसको असन्तुष्ट समूह उक्त निर्णयविरुद्व आन्दोलनमै उत्रिएका छन् । असन्तुष्ट नेताहरुहरुले कांग्रेस कास्की पार्टी कार्यालयमा तालाबन्दी नै गरेका छन् ।
बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै पोखरा महानगरका सचिवद्धय गणेशबहादुर थापा र टुकराज बास्तोलले पोखराको मेयर एसलाई दिने निर्णयले पार्टी नेता तथा कार्यकर्ताको आत्मसम्मानमा गम्भीर चोट पुगेको बताए । गठबन्धनको निर्णय गैह्रजिम्मेवार रहेको भन्दै महानगर कार्यसमितिले उपेक्षित अनुभव गरेको नेताहरुको भनाई छ ।
“जब कि हामी कांग्रेसको विधानसम्मत तरिकाले पोखरा महानगरको मेयर र उपमेयर पदको आकांक्षी उम्मेलदवार छनौट प्रक्रियामा रहेको अवस्थामा आम लोकतन्त्रवादी शुभेच्छुक जनमानस, वुद्धिजीवी वर्ग, जिल्ला, महानगर, वडा एवं टोल कार्य समितिमा आवद्ध नेपाली कांग्रेसका पहरेदार सिपाहीहरुको आत्म सम्मानमा गम्भिर चोट लागेको छ”, विज्ञप्तिमा भनिएको छ।
मंगलबार सत्ता गठबन्धनको बैठकले महानगरहरुको भागवण्डा गर्दै नेकपा (एस)लाई पोखरा दिने निर्णय गरेको थियो । सत्ता गठबन्धनको बैठक अघि कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसको गण्डकी र कास्कीका नेताहरुसँग छलफल गरेका थिए । नेताहरुसँगको छलफलपश्चात देउवाले उक्त सहमति गरेका थिए ।

वि.सं.२०७९ वैशाख ७ बुधवार १३:५२ मा प्रकाशित






























