
काठमाडौं । शुक्रबार सम्पन्न स्थानीयतह निर्वाचनको मत परिणाम अनुसार मनाङको चामे र नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा एमाले र कांग्रेस उम्मेदवार विजयी भएका छन् ।
चामे गाउँपालिकाको अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घले विजयी भएका छन् । घलेले ३२० मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका छिरीङ ध्वर्जे लामाले २७९ मत प्राप्त गरेका थिए ।
त्यस्तै सो गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी मिङ्मर डोल्मा लामा विजयी भएकी छन् । लामाले ३२५ मत ल्याएर विजयी हुँदा एमालेकी आशाकुमारी गुरूङले २७४ प्राप्त गरेकी थिइन् ।
त्यसैगरी मनाङकै नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् ।
उनले १५८ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । शुक्रबार राति सम्पन्न मतगणना अनुसार लामाका प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेदवार कृष्ण बहादुर लामाले १११ मत प्राप्त गरेका थिए । कूल ४८४ मतदाता रहेको उक्त पालिकामा ३०४ मत खसेको थियो भने ३५ मत बदर भएको थियो ।
जिल्लामा चार गाउँपालिका रहेको छ । जिल्लाको नासोँ गाउँपालिकामा बेलुका ८ बजेदेखि नै पहिलो मतगणना सुरु भएको र त्यसको एक घण्टापछि अन्य गाउँपालिकामा समेत सुरु भएको थियो । जिल्लामा कूल ६ हजार ४९६ मतदाता रहेकोमा कूल चार हजार ६७ मत खसेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिएका छन् ।