
काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणाम आएसँगै पाँच दलीय गठबन्धनभित्र केही चिसो पसेको छ । नतिजा अपेक्षाकृत नआएसँगै गठबन्धनका दुई दल एकीकृत समाजवादी र जनता समाजवादी पार्टी विशेषगरी असन्तुष्ट देखिएका छन् ।
एकीकृत समाजवादीले गठबन्धनको विकल्पको विषयमा मुखै खोलेर नभनेको भएपनि तिव्र असन्तुष्ट भने देखिएको छ । एकीकृत समाजवादीका केही नेताहरुले आफ्नो असन्तुष्टि घुमाउरो शैली सार्वजनिक पनि गरिरहेका छन् ।
नतिजासँगै एसका सम्मानित नेता झलनाथ खनालले एमालेसहित कम्युनिष्ट शक्तिहरुका बीचमा सहकार्य तथा एकता अनिवार्य देखिएको टिप्पणी गरेका छन् । स्थानीय तहको नतिजाबारे एसको धारणा राख्दै उनले भनेका छन्, “परिवर्तनको निम्ति पनि सबै वामपन्थी एक ठाउँमा उभिनुपर्छ, वामपन्थीबीच सहकार्य गर्नुको विकल्प छैन ।”
यता, जसपा निर्वाचनको परिणाम आएसँगै निरन्तर गठबन्धन इतरका शक्तिसँग छलफलमा देखिएको छ । जसपाले एकातिर तराई केन्द्रीत शक्तिहरुसँग सघन छलफल अघि बढाइरहेको छ भने गठबन्धनको कारण निकै मारमा परेको प्रमुख प्रतिपक्षी एमालेसँग पनि छलफल गरेको छ । निर्वाचनको नतिजा आउँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादव संवादमा जोडिएका थिए ।
ओलीसँग छलफलपश्चात यादवले जसपाबाटै छुट्टिएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग छलफल बढाएका छन् । अनपेक्षित नतिजा भोगेका दुवै शक्ति पुनः एक ठाउँमा आउनसक्ने सम्भावना भने बढ्न थालेको छ । जसपाका एक उच्च नेता लोसपासँग सकारात्मक रुपमा छलफल अघि बढिरहेको बताउँछन् ।
जसपालाई फकाउँदै दलहरु
अहिले तराई–मधेश क्षेत्रमा बलियो आधार रहेको जसपालाई फकाउन गठबन्धन र एमाले सँगसँगै देखिएका छन् । धोका भएको निष्कर्षमा पुगेको जसपालाई एमालेले सहकार्यको प्रस्ताव राखिरहेको छ भने गठबन्धनले आगामी निर्वाचनबाट परिपूर्ति गर्ने आश्वासन बाँडिरहेको छ ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको पाँच दलीय गठबन्धनको बैठकमा पनि मुख्यतः जसपाको असन्तुष्टीको विषयमा छलफल केन्द्रीत रहेको बुझिएको छ । गठबन्धनका एक नेताका अनुसार जसपाले विराटनगर र जनकपुरसहित केही पालिकामा आफुलाई धोका भएको निष्कर्ष बैठकमा सुनाएका थिए । बैठकमा जसपाले आगामी सहकार्य कठिन हुने पनि संकेत गरेको थियो । तर, बैठकमा गठबन्धनको नेतृत्वकर्ता कांग्रेसले भने आगामी समय उचित सहकार्य हुने आश्वासन बाँडेको थियो ।
तर, गठबन्धन भत्किन दलहरूकै कारण गाह्रो
अहिले एकीकृत समाजवादी र जसपाभित्र चुनावी नतिजाप्रति निकै असन्तुष्टी छ । तर, दुवै दल ओली नेतृत्वको एमालेसँग सहकार्य गर्न सक्ने भने अवस्थामा देखिन्नन् । नेतृत्वको विषयमा टसल भएकै कारण एमालेबाट छुट्टिएको एस पुनः एमालेसँग एकता गर्न सक्ने अवस्थामा छैन ।
यता, कहिल्यै सौहार्द सम्बन्ध नरहेको एमालेसँग पनि जसपाले सहकार्य गरिहाल्ला भन्ने अवस्था देखिन्न । ओली र यादवबीच कहिल्यै पनि सौहार्दपूर्णं राजनीतिक सहकार्य भएको छैन । दोस्रो पटक ओलीसँग एउटै क्याबिनेटमा बसेका यादव बोलचालसमेत बन्द भएपछि बाहिरिएका थिए ।
जसपा विभाजनमा एमालेको मुख्य भूमिका देखिएको कारण पनि यादव ओलीप्रति सशंकित नै छन् । एमालेप्रतिको आशंकाकै कारण निर्वाचनपछिको भेटवार्ता पनि निष्कर्षविहीन नभएको बुझिएको छ ।