काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको पहिचान संकटमा पर्न थालेको बताएका छन् । स्थानीय तहमा माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुका लागि आयोजित प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
प्रचण्डले अन्य पार्टी र माओवादीलाई जनताले भिन्न रुपमा बुझ्न छाडेको बताए ।
“हाम्रो पार्टीलाई पनि क्रमशः पहिचानको संकट आउन थालेको छ”, प्रचण्डले भने, “हुनत हामीले हाम्रा दस्तावेजमा, व्याख्या विश्लेषण गर्दा हामी क्रान्तिकारी हौं भन्छौं, तर अरु संसदवादी पार्टी र माओवादीबीचको पहिचान क्रमश मेटिएको हो कि ? कतिपय स्थितिमा माओवादी प्रतिनिधि अझ खराब पो छन् कि भन्ने परेको छ । तर त्यो कुरा होइन ।”
प्रचण्डले जनताको अपेक्षाअनुसार माओवादीले काम नगर्दा नै खुम्चिनु परेको बताए । “हामीलाई ठूलो पार्टी बनाएकै हुन्। तिमीहरू अझै सच्चिनु भनेर जनताले सन्देश दिएका हुन्। दिनप्रतिदिन विचलित हुँदै जाने हुन कि भन्ने जनतालाई छ”, उनले भने, “एकातिर हेर्दा अझै पनि माओवादीलाई भरोसा गरेर देशको राजनीतिको चाबी माओवादीको हातमा राखिदिएका छन्।”
प्रचण्डले सशस्त्र युद्धका क्रममा जनता निकै सहयोग गरेको भएपनि जनसम्बन्ध घट्दा अहिले दुरी टाढिएको बताए । जनतासँगको सम्बन्ध राम्रो बनाउन अब जनप्रतिनिधिले भूमिका खेल्नुपर्ने प्रचण्डको भनाई छ ।
उनले भने, “अब भनेको तपाईंहरू सबै जनप्रतिनिधिहरु हो। तपाईंहरूमा नै माओवादीको अनुहार देखिन्छ।”
वि.सं.२०७९ जेठ १८ बुधवार १४:५० मा प्रकाशित






























