
चितवनकी गीता माझीको यत्तिमात्र दोष थियो, आफै आत्मनिर्भर बन्न खोज्नु, दैनिक ज्यालादारी गरेर कमाएर ल्याएको रकमले घरको गर्जो टार्नेमात्र होइन श्रीमानलाई रक्सी समेत खान पुर्याएकी थिइन् । तर, उनै श्रीमानले गत बिहीबार निर्घात् कुटपिट मात्र गरेनन् उनको संवेदनशील अंगलाई क्षत–बिक्षत बनाएर उनलाई मरणासन्न बनाए । तीन छोरीकी आमा ३८ वर्षीया गीतालाई तत्कालै छिमेकीको सहयोगमा एम्बुलेन्समा राखेर भरतपुर अस्पतालमा उपचारका लागि ल्याइयो । तर, चारदिनपछि अस्पतालकै बेडमा गीताले प्राण त्याग गरिन् ।
१८ वर्षमै सन्तानको आमा बनेकी गीताका तीन छोरी छन् । तर, उनीहरु मध्ये एउटीको विवाह भइसकेको र अर्का दुई निरक्षर छन् । अब उनीहरुको रेखदेख खैरहनी नगरपालिकाले गर्ने भएको छ । नगरपालिकाका उपप्रमुख कविता उप्रेतीले आमाको काज किरीया सकेपछि १४ र १० वर्षीया उनीहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउने तथा निरक्षर उनीहरुलाई साक्षर बनाउने बताएकी छन् ।
गीता पछिल्लो पात्र हुन् जसले रक्षक मानिने श्रीमानबाटै लुटिइनन् मात्र ज्यानै गुमाइन । यसअघि पनि दाङकी ५० वर्षीय सोदी सार्कीका श्रीमान् ६६ वर्षीय मेगबहादुर सार्कीले उनको मलद्धारमा आगोको अगुल्टोले झोसेर यातना दिएका थिए भने दैलेखका नारायण नगरपालिका ६ नमुना बस्तिका कमारो सार्कीले श्रीमतीको यौनाङ्गमा आगो झोसेर गम्भीर बनाएका थिए । कमारो, सोदी सार्की, गीता माझीहरु यो समाजमा बाहिर देखिएका पात्र हुन् । कतिपयले श्रीमतीको पाठेघर नै निस्कने गरेर निर्घात् कुटपिट गरेका समाचारहरु पनि बाहिर नआएका होइनन् ।
तर कहिलेसम्म यस्तो अत्याचार सहने महिलाहरुले ? हुन त पछिल्ला समयमा केही महिलाहरुले श्रीमानको गलत व्यवहारले आजित भएर आवेशमा आउँदा उनीहरुको संवेदनशील अंगमा चोट पुर्याउने र ज्यानै लिने गरेका घटनाहरु बाहिरिएका पनि छन् । ती अपवादका रुपमा छन् । तर यस्तो घटना महिलामाथि दिनहुँ घटिरहन्छन् । कतिपयले न्याय पाउने आशमा घटना बाहिरी ल्याउँछन् भने केहीले घटना बाहिर ल्याए पनि उल्टो आफु्माथि नै आरोप लाग्ने, समाजले पनि महिलाकै गल्ती देखाउने, प्रहरीले उजुरीसमेत नलिने जस्ता सबैतिरबाट न्याय पाउने आश मारेर ‘श्रीमान श्रीमतीको झगडा परालको आगो’ भन्ने पुरानै भनाई आत्मसाथ गर्दै बाँचिरहेका हुन्छन् । तर, पुरुषले उनीहरुलाई बाहिरभन्दा पनि भित्रभित्रै मारिरहेका हुन्छन् अन्तमा, एउटी महिलाभित्र सबै मारेर केवल सास मात्र फेरेर जीवन बाँचिरहेकी हुन्छन् ।
एउटा श्रीमानको साथ नपाउँदा संसारै आफ्नो लागि डुब्छ वा समाजले के भन्छ भन्ने सोचबाट बाहिर आउनुपर्छ । अहिलेको अवस्थामा श्रीमानलाई नै सबै मानेर उसले बिवाह गरेर ल्याएको हो, उसको श्रीमती हुँ, उसले पाल्न कर लाग्छ भनेर उसका दिनहुँका अन्याय र अत्याचार सहेर बस्नु भनेको आफुजस्तै धेरै महिलाहरुको आँट र हिम्मतको तगारो बन्नु हो । तपाई हामीले परिवार र समाजमा गरेको विद्रोहले नै त्यस्ता धेरै पीडित महिलाहरुलाई बाहिर निस्किएर विद्रोह गर्ने हिम्मत मिल्छ ।
हो, हिजोको पुस्तामा त्यही पीडा थियो । उनीहरु भित्र–भित्रै श्रीमानका व्यवहार र कुटाइबाट मरिरहेका हुन्थे तर, छोराछोरी, परिवार, समाज अनि माइतीले के भन्लान् भन्ने डरमा जीवन बिताउँथे । कतिपय अवस्थामा उनले आफ्नो पीडा बाहिर ल्याउनसमेत सक्थेनन् । जे भएपनि मेरो कर्म र मेरो भाग्य बनेर बाँचिरहेका हुन्थे । तर आज समय अगाडि बढिसकेको छ । देशमा सीप र क्षमताअनुसारको काम गरेर खानसक्ने वातावरण निर्माण भइसकेको छ । भलै राज्यले त्यसको व्यवस्था सहज र जहिँतहिँ नगरेको भए पनि निजी क्षेत्रमा त्यस्ता धेरै दिदी बहिनीहरुले आफ्नो सीप र क्षमता, इमानदारिता प्रदर्शन गरेर जिविका चलाइरहेका छन् । आफुले ढुँगा–माटो बोकेर घर बनाउने काम गरेर पनि छोराछोरीलाई उच्च शिक्षा दिलाएर हिम्मत र शाहसले बाँचिरहेका छन् । हामी पनि त्यसरी नै बाँच्न सक्छौ भन्ने हिम्मत जुटाउनुपर्छ ।
एउटा श्रीमानको साथ नपाउँदा संसारै आफ्नो लागि डुब्छ वा समाजले के भन्छ भन्ने सोचबाट बाहिर आउनुपर्छ । अहिलेको अवस्थामा श्रीमानलाई नै सबै मानेर उसले बिवाह गरेर ल्याएको हो, उसको श्रीमती हुँ, उसले पाल्न कर लाग्छ भनेर उसका दिनहुँका अन्याय र अत्याचार सहेर बस्नु भनेको आफुजस्तै धेरै महिलाहरुको आँट र हिम्मतको तगारो बन्नु हो । तपाई हामीले परिवार र समाजमा गरेको विद्रोहले नै त्यस्ता धेरै पीडित महिलाहरुलाई बाहिर निस्किएर विद्रोह गर्ने हिम्मत मिल्छ ।
जहाँसम्म श्रीमतीले कमाएर ल्याएको पैसाले रक्सी पनि खानुपर्ने अनि मै मर्द हुँ भनेर श्रीमतीमाथि जाइलाग्ने, श्रीमती पनि मान्छे हो उनको पनि अस्तित्व छ भनेर नसोच्ने अनि त्यसरी व्यवहार नगर्ने, आफुले कमाउन नसकेपनि श्रीमतीले जेनतेन गरेर घरको गर्जो टारेकामा खुसी हुनुपर्नेमा उल्टै श्रीमतीमाथि जाइ लाग्ने र उनका संवेदनशील अंगहरु क्षत–विक्षत पार्ने, जलाउने र मृत्युको मुखमा पुर्याउने त्यस्ता श्रीमानहरु, श्रीमान होइनन् ती त पुरुषको रूप धारण गरेर आएका राक्षस् हुन् । ती राक्षससँगै बसेर जीवन विताउनुपर्छ भन्ने छैन । अहिलेको अवस्थामा आफ्नो सीप र क्षमताअनुसारको काम गरेर बाँच्ने सकिन्छ भन्ने सबै दिदी बहिनीहरुले मनन गर्न जरुरी छ । अर्को कुरा प्रत्येक घरमा रहेका दिदीबहिनी र आमाहरुले पनि त्यस्ता महिलाहरुलाई जीवनमा अगाडि बढ्न प्रोत्साहन गर्नुका साथै उनलाई परेको दुःखमा हातेमालो गरेर आर्थिक, भौतिक अनि नैतिक साथ दिन सक्यौ भने पक्कै पनि श्रीमानभन्दा बाहिर मलाई माया गर्ने र साथ दिने अरुपनि कोही छ भनेर उनीहरु हिम्मत गरेर अगाडि बढ्न सक्नेछन् ।