काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसदले उपसभामुख पद खारेजीको माग गरेका छन् । बुधबार संसद बैठकमा बोल्दै कांग्रेस सांसद अमरेश कुमार सिंहले उपसभामुख पद खारेज गर्न माग गरेका हुन् । उपसभामुखको पद लामो समयदेखि रिक्त रहेको भन्दै उनले पद नै खारेज गर्न सुझाए ।
“उपसभामुख चाहिएन भने उपसभामुख पद नै खारेज गरौँ । चाहियो भने उपसभामुखको निर्वाचन किन भएन ?”, बुधबारको प्रतिनिधि सभा बैठकमा उनले प्रश्न गरे, “उपसभामुखका कारण खर्च बढ्छ भने उपसभामुख पद खारेज गरौँ ।”
उनले राज्य व्यवस्था समिति पनि नयाँ सरकार बनेदेखि निष्क्रिय बनाइएको भन्दै खारेजीको माग गरेका छन् । “यो सरकार बनेपछि उक्त समिति निष्क्रिय छ। सरकारलाई समिति चाहिँदैन भने खारेज गरेर सांसदलाई अन्यत्र सारौं”, उनले भने।
वि.सं.२०७९ जेठ २५ बुधवार १३:३९ मा प्रकाशित






























