back
CTIZAN AD

अचाक्ली कर : दक्षिण एसियामै इन्धनको मूल्य नेपालमा महँगो

वि.सं.२०७९ असार ७ मंगलवार

771 

shares

काठमाडौं । इन्धनमा अचाक्ली कर लगाउँदा नेपालमा इन्धनको मूल्य दक्षिण एसियाकै सबैभन्दा महँगो पर्न गएको छ । दक्षिण एसियामा चरम आर्थिक संकट व्यहोरिरहेको श्रीलंकाभन्दा इन्धनको मूल्य नेपालमा धेरै बढी छ । श्रीलंकामा प्रतिलिटर १४५.९९ रुपैयाँ पर्ने पेट्रोल नेपालमा १९९ रुपैयाँ पुगेको छ । जुन श्रीलंकाको भन्दा ५३.०१ रुपैयाँ बढी हो । त्यस्तै, श्रीलंकामा प्रतिलिटर १३९.१२ रुपैयाँमा पाइने डिजेल नेपालमा १९२ रुपैयाँ पुगेको छ । जसअनुसार डिजेल नेपालमा भन्दा श्रीलंकामा ५२.८८ रुपैयाँ सस्तोमा पाइन्छ ।

दक्षिण एसियामा माल्दिभ्सले आफ्ना नागरिकलाई सबैभन्दा सस्तोमा इन्धन बेच्दछ । माल्दिभ्समा अहिले पेट्रोलको मूल्य प्रतिलिटर ११८.५४ रुपैयाँ पर्दछ भने डिजेलको मूल्य १२०.२८ रुपैयाँ पर्दछ । जसलाई तुलना गर्दा माल्दिभ्समा भन्दा नेपालमा पेट्रोलको मूल्य ८०.४६ रुपैयाँ र डिजेलको मूल्य ७१.७२ रुपैयाँ बढी पर्दछ ।

दक्षिण एसियामा माल्दिभ्स पछि बंगलादेशले जनतालाई सस्तोमा इन्धन दिने गरेको छ । चरम आर्थिक संकट व्यहोरिरहेको अफगानिस्तानमा पनि इन्धनको मूल्य सस्तो छ ।

अचाक्ली करको कारण महँगो

इन्धनको मूल्य बढ्दा कर घटाएर जनतालाई राहत दिनुपर्नेमा सरकारले उल्टै मूल्य अभिवृद्धि कर बढाएको छ । जसका कारण नेपालमा इन्धनको मूल्य उच्च बनेको हो ।

इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट प्रतिलिटर १३१.९१ रुपैयाँमा खरिद गरेको पेट्रोलमा सरकारले मूल्य अभिवृद्धि कर मात्रै ६५.६१ रुपैयाँ लिने गरेको छ । सरकारले एक लिटर पेट्रोलमा मूल्य अभिवृद्धि करसँगै १५.८० रुपैयाँ अन्य शीर्षकबाट पैसा असुल गर्ने गर्दछ । आईओसीबाट १३१.९१ रुपैयाँमा खरिद गरेको पेट्रोलमा ८१.४१ रुपैयाँ अन्य खर्च देखाएर सरकारले १३.५८ रुपैयाँ घाटा भएको पनि बताउने गरेको छ ।

सरकारले पेट्रोलको तुलनामा डिजेलमा भने कर कम लिने गरेको छ । १४६.५२ रुपैयाँमा किनेको डिजेलमा सरकारले प्रतिलिटर ४९.५३ रुपैयाँ कर लिने गरेको छ । सरकारले डिजेलमा ९.९० रुपैयाँ अन्य शीर्षकबाट पैसा असुल गर्ने गरेको छ । जसका कारण १४६.५२ रुपैयाँमा किनेको डिजेलको मूल्य प्रतिलिटर १ सय ९२ रुपैयाँ पुगेको छ । तथापी डिजेलमा सरकारले १३.९५ रुपैयाँ घाटा भएको बताउने गरेको छ ।

सरकार भन्छ – घाटा कम गर्न मूल्य बढाइयो

सरकारले पछिल्लो एक महिनामा मात्रै पेट्रोलमा ५९ रुपैयाँ मूल्य बढाएको छ । अन्तराष्ट्रिय बजारमा मूल्य बढेको भन्दै सरकारले इन्धनको मूल्यमा बृद्धि गर्दै आएको छ ।

पछिल्लो मूल्यवृद्धि घाटा कम गर्नका लागि गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडु बताउँछन् । उनका अनुसार प्रत्येक महिना नौ अर्ब ६३ करोड रुपैयाँ घाटा भइरहेको छ । “पेट्रोलियम पदार्थ बाहिरको बजारमा जे मूल्य छ त्यसैमा किनेर ल्याउने हो, ल्याएकै रेटमा बेच्न सकिँदैन, अझै पनि पेट्रोलमा ३१ रुपैयाँ घाटा छ”, उनले भनेका छन्, “भारतलाई २२ अर्ब रुपैयाँ तिर्नुपर्नेछ, यो महिनाभित्र तिर्नुपर्छ, त्यसकारण बाध्यात्मक रुपमा मूल्य बढाइएको हो ।”

तर, इन्धनको मूल्यवृद्धिसँगै समग्र बजार अस्थव्यस्त बनेको छ । इन्धनको मूल्यवृद्धिसँगै सार्वजनिक यातायातले भाडा बढाएका छन् । सार्वजनिक यातायातले भाडा बढाएसँगै जसको सिधा असर दैनिक उपभोग्य वस्तुहरुको मूल्यमा पर्न गएको छ । अहिले सबैभन्दा बढी तेलको मूल्यमा वृद्धि भएको छ ।

तर, चौतर्फी समस्या सिर्जना गरेको मूल्यवृद्धिप्रति सरकारले भने बेवस्ता गरेको देखिन्छ । इन्धनको मूल्यमा कर घटाएर राहत दिनुपर्ने प्रस्ताव आएको भएपनि त्यसप्रति सरकारले ध्यान दिएको छैन ।

वि.सं.२०७९ असार ७ मंगलवार १४:१९ मा प्रकाशित