काठमाडौं । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् । बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरिएको भन्दै अर्थमन्त्रीकै छानबिनको माग गरिएका बेला अर्थसचिव बिदामा बसेका हुन् ।
अर्थ मन्त्रालयका प्रवक्ता सहसचिव ढुण्डीप्रसाद निरौलाले जानकारी दिएअनुसार उनी बिरामी भएको भन्दै बिदामा बसेका छन् । कहिलेसम्मको बिदामा बसेका हुन् भन्ने भने यकिन छैन ।
करको दर हेरफेर प्रकरणबारे संसदमा छानबिनको माग उठेको छ । संसदमा अर्थमन्त्रालयको सीसीटिभी फुटेज सार्वजनिक गर्न माग गरिएको छ । तर, अर्थमन्त्रालयले भने फुटेज मेटिएको भन्दै दिन अस्वीकार गरेको छ ।
फुटेज मेटिएको जवाफ दिएका कारण सत्ता पक्ष कांग्रेस र प्रतिपक्षी एमालेका सांसदहरुले अर्थमन्त्रीको राजीनामा माग गर्दै उनीमाथि छानबिनको माग गर्दै आएका छन् । उक्त प्रकरणमा अर्थमन्त्रालयका जिम्मेवार अधिकारीको पनि संलग्नता रहेको आशंका गरिरहेका छन् ।
वि.सं.२०७९ असार २२ बुधवार १२:०७ मा प्रकाशित






























