कोलम्बो, श्रीलङ्का । चरम इन्धन र औषधि अभावले श्रीलङ्काका अस्पताल प्रायः बन्द हुने अवस्थामा पुगेका छन् । शल्यक्रिया उपकरण र जीवन बचाउने औषधिहरूको आपूर्ति लगभग ठप्प भएपछि अस्पतालहरूको यस्तो नाजुक अवस्था आएको हो । चिकित्सक र बिरामीहरूसमेत यातायातमार्फत सहजरूपमा हिँडडुल गर्न सक्ने अवस्थामा नभएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।
श्रीलङ्काले ८५ प्रतिशतभन्दा बढी औषधि र चिकित्सकीय उपकरण आयात गर्दछ तर यतिबेला विदेशी मुद्राको अभावले आयात सहज गर्न सकिरहेको छैन । देशको अर्थ व्यवस्था अत्यन्त नाजुक अवस्थामा चलिरहेको छ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले देशको समग्र सार्वजनिक स्वास्थ्य सेवाहरूको वर्तमान अवस्थाको बारेमा सत्यतथ्य विवरण सार्वजनिक गर्न आलटाल गरिरहेका छन् । यहाँका ९० प्रतिशतभन्दा बढी जनता सार्वजनिक स्वास्थ्य सेवामा निर्भर छन् । जसको अवस्था अहिले कन्तबिजोक बनेको छ ।
सञ्चारमाध्यममा सार्वजनिक समाचारअनुसार सरकारी अस्पतालमा कार्यरत डाक्टरहरूले आपत्कालीन शल्यक्रिया गर्नसमेत कटौती गर्न बाध्य भएको बताएका छन् । त्यस्तै अत्यावश्यक औषधिको समेत आपूर्ति बन्द प्रायः रहेको छ ।
“श्रीलङ्काको कुनै समयको बलियो मानिने स्वास्थ्य सेवा प्रणालीसमेत अहिले खतरामा छ,“ संयुक्त राष्ट्रसङ्घ निवासी संयोजक हाना सिंगर–हाम्डीले एक विज्ञप्तिमार्फत जनाएकी छन् ।
“सबैभन्दा कमजोरहरूले र निमुखा जनताले सबैभन्दा ठूलो प्रभावको सामना गरिरहेका छन्,“ उनले भनिन् ।
विश्व बैंकले श्रीलङ्कालाई एन्टि–रेबिज भ्याक्सिनलगायत तत्काल आवश्यक पर्ने औषधिहरूको भुक्तानी गर्न मद्दत गर्न कोषलाई निर्देशन दिएको छ । यसैबीच भारत, बङ्गलादेश, जापानलगायत देशले पनि श्रीलङ्कालाई स्वास्थ्य सेवाको क्षेत्रमा सहयोग गर्दै आएका छन् । यद्यपि यहाँको स्वास्थ्य सेवा प्रणालीको अवस्थामा भने तत्काल सुधार देखिएको छैन ।
नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमासिंघेले सुधारका निम्ति कडा कदम नचाले आगामी वर्षको अन्त्यसम्ममा मुलुकको आर्थिक सङ्कट झनै बिग्रँदै जाने देखिन्छ । जारी चरम मुद्रास्फीतिले खाद्यान्नको मूल्यहरू यति उच्च बनाएको छ कि धेरै घरपरिवारहरू छाक टार्नसमेत सङ्घर्ष गरिरहेका छन् ।
सन् २०२२ को सुरुआतदेखि नै श्रीलङ्काले बढ्दो आर्थिक सङ्कटको सामना गरिरहेको छ । यसैबीच संयुक्त राष्ट्र सङ्घले चेतावनी दिँदै ५७ लाख मानिसहरूलाई “तत्काल मानवीय सहायता आवश्यक रहेको“ बताएको छ ।
श्रीलङ्काको अर्थतन्त्रले उत्पादनका लागि आधारभूत सामग्रीको अनुपलब्धता, मार्च २०२२ देखि मुद्राको ८० प्रतिशत अवमूल्यन, विदेशी सञ्चितिको अभाव र अन्तरराष्ट्रिय ऋण दायित्व पूरा गर्न नसकेका कारण तीव्र सङ्कूचनको सामना गरिरहेको छ । थुप्रै श्रीलङ्कालीहरूले खाद्यान्न र इन्धनलगायतका अत्यावश्यक वस्तुहरूको चरम अभावको सामना गरिरहँदा मार्चमा शान्तिपूर्ण विरोध प्रदर्शन सुरु भएको थियो । जसले राजनीतिक परिवर्तन ल्याएको भए पनि आर्थिक अवस्थामा बने सुधारात्मक परिवर्तन भने ल्याउँन सकेको छैन ।
आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री महिन्दा राजापाक्षले मे ९ मा राजीनामा दिएका थिए भने उनका भाइ राष्ट्रपति गोटाबाया राजापाक्षले जुलाई १३ मा देश छोड्न बाध्य भए र त्यसको भोलिपल्ट राजीनामा दिएका थिए । (रासस÷एएनआई)
वि.सं.२०७९ साउन ११ बुधवार ०७:५९ मा प्रकाशित




























