back
CTIZAN AD

एक्लिएको एमालेमा हारको त्रास, चुनाव लड्न नै इच्छुक देखिएनन् नेताहरु

वि.सं.२०७९ साउन २५ बुधवार

2.4K 

shares

काठमाडौं । स्थानीय निर्वाचनमा जस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले एक्लो हुने भएको छ । सत्ता गठबन्धनका दलहरुले तालमेल गरेर जाने निर्णय गरेसँगै एमाले एक्लिएको हो । स्थानीय तहमा केही साना समूहसँग तालमेल गरेको भएपनि एमालेका निम्ति त्यो फाइदाजनक भएको थिएन ।

स्थानीय चुनावमा जे–जस्तो नतिजा आयो, त्यसले एमालेलाई कमजोर बनाएको छ । पहिलो र बलियो शक्तिका रुपमा रहेको एमाले दोस्रो र केही कमजोर शक्तिका रुपमा खुम्चिएको छ ।

गठबन्धनको कारण एमालेलाई स्थानीय चुनावबाट जे–जति घाटा भयो, प्रदेश र प्रतिनिधिसभा चुनावबाट त्योभन्दा बढी घाटा हुने देखिएको छ । गठबन्धन तोड्न नसकिए प्रतिनिधिसभा र प्रदेशसभामा हालको हैसियत धेरै तल पुग्ने आंकलन एमालेभित्र भएको छ ।

२०७४ को निर्वाचनमा एमाले एक्लैले ८० सिट प्रत्यक्षबाट जितेको थियो । तर, यसपटक भने २० सिट जोगाउन पनि गाह्रो हुने समीक्षा एमालेभित्रै भएको छ ।

एमालेको केन्द्रीय सचिवालयका एक नेताका अनुसार गठबन्धन तोड्न नसकिए केन्द्रीय सचिवालयका १९ जना शीर्ष नेतामध्ये एक/दुई जनाले मात्रै जित्ने अवस्था हुन्छ । एमालेभित्रको समीक्षाअनुसार झापा–५ बाट केपी शर्मा ओलीले जित्न सक्ने सम्भावना भएपनि अन्यको अवस्था निकै अन्योल छ ।

उनका अनुसार शीर्ष नेताभन्दा तल्लो तहका नेताहरुमा हारको त्रास बढी देखिन्छ । जिल्ला र प्रदेश तहका प्रशिक्षण कार्यक्रमहरुमा यही अवस्था रहने चुनावमा उठ्नै गाह्रो हुने नेताहरुको भनाई छ ।

“गठबन्धन एकातिर र एमाले अर्कोतिर भन्ने वित्तिकै त्यसले स्वभाविक हामीलाई असर गर्छ, स्थानीय तहको नतिजाभन्दा प्रदेशसभा र प्रतिनिधिसभामा त्यसको बढी प्रभाव पर्ने देखिन्छ”, एमालेका एक नेताले भनेका छन्, “५ जना एकातिर र हामी एक्लै कसरी लड्ने भन्ने चिन्ता जिल्ला र प्रदेश तहमा देखियो ।”

चुनाव लड्न नै इच्छुक छैनन् केन्द्रीय नेताहरु

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध चितवन–३ बाट खडा हुने उद्घोष गरेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ यतिबेला गुमनाम छन् । केही समय अघिसम्म प्रचण्डविरुद्ध चुनाव लड्छु भनेका बादल पछिल्लो समय मुख खोल्न छाडेका छन् । तर, एमालेभित्र बादललाई नै प्रचण्डविरुद्ध उठाउनुपर्ने भनाई नेताहरुको छ । जसका कारण उनी बाध्यबस उम्मेदवार हुन सक्ने सम्भावना छ ।

बादल जस्तै उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पनि चुनाव लड्ने सोंचमा देखिन्निन् । शाक्यले चुनाव खर्चिलो भएको कारण उठ्न गाह्रो हुने तर्क निकटसँग गर्ने गरेकी छिन् ।

अर्का उपाध्यक्ष युवराज ज्ञवाली पनि चुनाव उठ्ने विषयमा इच्छुक देखिन्नन् । उनले सार्वजनिक रुपमै चुनाव उठ्ने रहर नभएको बताएका छन् । “मलाई चुनाव लड्ने कुनै इच्छा छैन”, ज्ञवालीले भनेका छन्, “उठ्दिन भन्न मिल्दैन तर, मलाई चुनावमा उठ्ने आर्कषण छैन ।”

वि.सं.२०७९ साउन २५ बुधवार १७:५३ मा प्रकाशित