१३ चैत,धनगढी । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले सबै नेपालीको समृद्धि नै आफ्नो पार्टीको सपना रहेको बताउनुभएको छ ।
नयाँ शक्ति पार्टीले थालेको हिमाल, पहाड, तराई र मधेस राष्ट्रिय अभियानको अन्तिम दिन यहाँ आज आयोजित सभालाई सम्बोधन गर्दै डा भट्टराईले देशलाई एकताबद्ध बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले विगतमा एकात्मक राज्य चाहने केही पक्षले सङ्घीयताविरोधी काम गरेका कारणले नै सङ्घीय संरचनाको सवालमा अहिले विरोधका स्वर उठेको दाबी गर्नुभयो । एउटै जातिको प्रभुत्व कायम गर्नेगरी सङ्घीयताको संरचनामा जाँदा यस्तो सङ्घीयता कार्यान्वयन हुन नसक्ने बताउँदै उहाँले जातीय क्लष्टर मिल्ने गरी सङ्घीयताको ठीक ढङ्गले प्रवद्र्धन गर्नु जरुरी रहेको बताउनुभयो ।
नेपालको संविधान उत्कृष्ट भएपनि त्यसमा केही कमीकमजोरी रहेको उल्लेख गर्दै डा भट्टराईले भन्नुभयो, “सबैको चित्त बुझ्ने गरी संविधान संशोधन गरेपछि मात्र निर्वाचनमा जानुपर्छ ।” ठूला पार्टी सत्ताको खेलमा लागेका कारण संविधान जारी भएको डेढ वर्षसम्म पनि संशोधन हुन नसकेको उहाँले बताउनुभयो ।
उहाँले विदेशी हस्तक्षेपबाट बच्न आन्तरिक राष्ट्रिय एकता हुनुपर्ने आवश्यक रहेकोमा जोड दिँदै संविधानमा नसमेटिएका शक्तिलाई समेट्न नसके देशमा बिग्रह निम्तिने चेतावनी दिनुभयो ।
नयाँ शक्ति पार्टीका भीमबहादुर खडायतको सभापत्विमा भएको सभामा नेता महेन्द्र पासवान, नवराज सुवेदी, रामकुमार शर्मा, नेतृ हिसिला यमी, करिष्मा मानन्धर, सांसद गङ्गा चौधरी, डा जनक शाहलगायतले पनि बोल्नुभएको थियो । रासस
वि.सं.२०७३ चैत १३ आइतवार १५:३० मा प्रकाशित






























