देवचुली (नवलपुर) । सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउँदै गुणस्तरीय र प्रविधिमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यका साथ नवलपुरको देवचुली नगरपालिकास्थित श्री जनज्योति माध्यमिक विद्यालयले नयाँ शैक्षिक अभियानको सुरुवात गरेको छ ।
विद्यालयले एक विशेष समारोहका बीच सुविधा सम्पन्न कक्षाको शुभारम्भ गर्नुका साथै कक्षा ११ मा नवआगन्तुक विद्यार्थीहरूलाई भव्य स्वागत गरेको हो ।
देवचुली नगरपालिकाको शैक्षिक क्षेत्रलाई थप उचाइमा पु¥याउने संकल्प गरिएको उक्त भव्य कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रितम भुजेलको अध्यक्षता तथा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अशोक कोइरालाले सामुदायिक विद्यालयहरूमा पछिल्लो समय देखिएको शैक्षिक सुधार प्रशंसनीय रहेको बताए । जनज्योति माविले विज्ञान शिक्षा र आधुनिक शिक्षण पद्धतिलाई प्राथमिकतामा राखेर नयाँ यात्रा सुरु गर्नु सकारात्मक कदम भएको उल्लेख गर्दै उनले विद्यार्थीको उज्ज्वल भविष्यका लागि विद्यालय, अभिभावक र स्थानीय तहबीच त्रिपक्षीय सहकार्य आवश्यक रहेकोमा जोड दिए । त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रितम भुजेलले जनज्योति माविलाई जिल्लाकै उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको घोषणा गरे । विद्यार्थीहरूलाई केवल सैद्धान्तिक मात्र नभई व्यावहारिक, वैज्ञानिक र प्रतिस्पर्धात्मक शिक्षा प्रदान गर्न विद्यालय प्रशासन प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
विद्यालयका प्रधानाध्यापक मीन बहादुर दहालले विद्यालयमा पुनः सञ्चालन गरिएको विज्ञान संकायप्रति विद्यार्थी तथा अभिभावकको आकर्षण उत्साहजनक रूपमा बढ्दै गएको जानकारी दिए । आगामी दिनमा विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधारलाई अझ बढी प्रविधिमैत्री र आधुनिक बनाउँदै लैजाने प्रतिबद्धता समेत उनले व्यक्त गरे । कार्यक्रममा नवआगन्तुक विद्यार्थीहरूको तर्फबाट पनि प्रतिनिधिहरूले मन्तव्य राख्दै विद्यालयले उपलब्ध गराएको सुविधा सम्पन्न सिकाइ वातावरणप्रति खुसी व्यक्त गरे र आगामी दिनमा उत्कृष्ट नतिजाका लागि मेहनतका साथ अध्ययन गर्ने प्रतिबद्धता जनाए ।
उक्त विशेष समारोहमा देवचुली नगरपालिकाका शिक्षा प्रमुख राम प्रसाद शर्मा, लेखा शाखा प्रमुख नारायण ढकाल, वडा नं. १५ का अध्यक्ष सुरेश रानाभाट, वडा नं. १० की अध्यक्ष रेप्ती कुमारी घर्ती, वडा नं. १३ का अध्यक्ष एकदेव पौडेल, कावासोती–११ का वडा अध्यक्ष शारदा प्रसाद अधिकारी, नगर प्रमुखका स्वकीय सचिव सागर भुसाल र जनज्योति आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख जयनारायण सापकोटा लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा आमन्त्रित अतिथि तथा वक्ताहरूले विद्यालयको नयाँ अभियान सफलताको शुभकामना दिँदै आधुनिक र व्यावहारिक शिक्षामार्फत सक्षम जनशक्ति उत्पादनमा सबै पक्षको सहकार्य हुनुपर्ने धारणा राखे ।
विद्यालयका सहायक प्रधानाध्यापक कृष्ण बरालले सहजीकरण गर्नुभएको सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको ठूलो संख्यामा उपस्थिति रहेको थियो । सुविधा सम्पन्न कक्षाकोठा, दक्ष शिक्षक र अनुशासित वातावरणका साथ सक्षम र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने यात्रामा विद्यालय परिवार दृढताका साथ अघि बढेको जनाएको छ ।
वि.सं.२०८३ जेठ १२ मंगलवार १६:२१ मा प्रकाशित






























