के तपाईं भित्री रूपमा कट्टर आस्तिक हुनु हुन्छ बाहिरी रूपमा आफूलाई कम्युनिस्ट भन्न रुचाउनुहुन्छ? दैवी शक्तिमा अटल विश्वास गर्नुहुन्छ? पूर्वजन्मको कर्म भोग्दै अर्को जुनीकालागि धर्म–कर्ममार्फत लगानी गर्दै हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन। म तपाईंलाई केही जिवनपयोगि “ट्रिप्स” दिन्छु। यि ट्रिप्सको पालन गर्नु भयो भने बाहिरबाट चाहिँ तपाईंलाई क्रान्तिकारी कम्युनिस्ट देखिनबाट कसैले रोक्न सक्दैन।
बिहान उठ्नेबित्तिकै हनुमान चालीसा पाठ गर्नुहोस्। शंख–घण्ट बजाउनुहोस्। जनै काँधमा भिर्नुहोस्। मन्दिर, गुम्बा, चर्च जहाँ पुगे पनि श्रद्धापूर्वक ढोग गर्नुहोस्। देवी–देवताको आशीर्वाद लिनुहोस्। राशिफल हेरेर दिनको शुभ–अशुभ निर्धारण गर्नुहोस्। साइत जुराएर मात्रै काम सुरु गर्नुहोस्। अर्थात्, व्यवहारमा तपाईं शतप्रतिशत आस्तिक नै हुनुहोस्। तर बाहिर निस्कँदा भने अलिकति राजनीतिक मेकअप आवश्यक हुन्छ। घरबाट निस्कने बेलामा जनैलाई घरको कुनै किलामा झुण्ड्याएर निस्कनुहोस् वा टाइ लगाइदिनुहोस् ताकि जनै सभ्य ढंगले लुकियोस्। आखिर विचारभन्दा पनि ‘इमेज’ ठूलो कुरा हो। अर्थात तपाईंको आध्यात्मिक स्वरुपलाई भौतिकवादी देखावटिपनले सर्लक्क ढाक्नुहोस।
यदि मन्दिरअगाडि पूजाको थाली बोकेर दाँत देखाउँदै फोटो खिच्नु पर्यो भने पनि क्याप्सनमा “फलानो देवी–देवताले सबैको रक्षा गरून्” नलेख्नुहोस्। त्यसको सट्टा “विश्वभरका मजदुरहरू एक होऔँ!”, “सर्वहारा वर्गको विजय होस्!” वा “वैज्ञानिक समाजवाद जिन्दाबाद!” जस्ता क्याप्सन लेख्नुहोस्। फोटोले भक्ति देखाओस् र क्याप्सनले क्रान्तिकारी। जसबाट आम मानिसमा भ्रान्ति सिर्जना गरोस्। अन्ततः आस्तिक र नास्तिक दुवैका प्रिय पात्र बनियोस्।
घरभित्र पूजा–आराधना गर्दा पनि सावधानी अपनाउनुहोस्। शंख–घण्टको आवाज बाहिर नसुनियोस् भनेर कि कुनै नेताको पुरानो भाषण ठूलो आवाजमा बजाउनुहोस् कि “म त ढलेँ ढलेँ…” जस्ता गीतहरू यति चर्को स्वरमा घन्काउनुहोस् कि छिमेकीले तपाईं पूजामा बस्नुभएको होइन पार्टीको वैचारिक प्रशिक्षण वा मनोरंजनमा चलिरहेको छ भन्ने भ्रम पारून्।
विश्वास आफ्नै ठाउँमा रहोस् तर प्रदर्शन परिस्थितिअनुसार बदलिनुपर्छ। आखिर नक्कली कम्युनिस्टको पहिलो योग्यता विचारमा होइन, अभिनयमा निपुण हुनु हो। सिद्धान्तले होइन छविले राजनीति चल्ने युगमा सक्कलीभन्दा नक्कली नै कहिलेकाहीँ बढी क्रान्तिकारी देखाउन सकिन्छ।
नेतासँगको पहुँच देखाएर आफ्नो “ हैसियत ” कसरी बढाउने?
राजनीतिमा वास्तविक हैसियतभन्दा नेतासँगको पहुँच ठूलो कुरा मानिन्छ। त्यसैले आफ्नो राजनीतिक उचाइ नाप्ने मापन यन्त्र विचार, योगदान वा क्षमता होइन, नेतासँग खिचिएको फोटो बनाउनुहोस्। त्यसकोलागि सबैभन्दा पहिले नेताको दैलो धाउन सिक्नुहोस्। नेता जहाँ पुग्छन् त्यहीँ तपाईं पनि पुग्नुहोस्। नेताको घर, कार्यालय, होटल, विमानस्थल वा कार्यक्रमस्थल—जहाँ भेटिन्छ त्यहीँ धैर्यपूर्वक कुरेर बस्नुहोस्। नेता फुत्त बाहिर निस्कनासाथ ठिङ्ग लौरो ठडिएझैँ सावधान मुद्रामा उभिनुहोस्। अनुहारमा गम्भीरता, आँखामा राष्ट्रको चिन्ता र ओठमा हल्का मुस्कान राख्दै तुरुन्त फोटो खिच्नुहोस्। नेताले तपाईंलाई चिनेका छन् कि छैनन् त्यो गौण विषय हो; फोटोमा एउटै फ्रेममा पर्नु नै मुख्य उपलब्धि हो। त्यसपछि एक मिनेट पनि ढिला नगरी फोटो सामाजिक सञ्जालमा अपलोड गर्नुहोस्। हेर्नेले तपाईंलाई पार्टीको सामान्य कार्यकर्ता होइन मानौँ सबै राजनीतिक निर्णय तपाईंको सल्लाहबिना अगाडि नबढ्ने व्यक्ति ठानून्। आफूलाई मानौँ दिपक भट्टकै स्तरको प्रभावशाली “इन्फुलेन्सर” भएको आभास दिनुहोस्। क्याप्सन झन् गहकिलो हुनुपर्छ। उदाहरणका लागि—”समसामयिक राष्ट्रिय राजनीति, संगठन सुदृढीकरण तथा दीर्घगामी महत्त्वका विषयमा गहन वैचारिक छलफल पश्चात् एक क्लिक।”
त्यसपछि सुरु हुन्छ सबैभन्दा रमाइलो चरण। झोले–झ्याम्टेहरूको “वाह नेता!”, “गर्व लाग्यो!”, “देशले तपाईं जस्ता युवालाई खोजेको छ!” भन्ने लाइक, कमेन्ट र सेयरको वर्षा हेर्दै आत्मसन्तुष्ट हुनुहोस्। एक फोटोको भरमा आफ्नै मनमा आफ्नो राजनीतिक उचाइ केही फिट बढेको अनुभूति गर्नुहोस्। आजको राजनीतिमा पहुँच प्रमाणित गर्न विचार, योगदान वा संघर्ष चाहिँदैन; नेताको काँधसँग काँध जोडिएको एउटा फोटो, गहकिलो क्याप्सन र केही सय लाइक भए पुग्छ। बाँकी प्रतिष्ठा सामाजिक सञ्जालले आफैँ निर्माण गरिदिन्छ।
सामाजिक सञ्जालमा क्रान्तिकारी छवि कसरी निर्माण गर्ने?
आजको राजनीतिमा विचारभन्दा सामाजिक सञ्जाल बलियो हतियार हो। त्यसैले मैदानमा भन्दा फेसबुकमा बढी सक्रिय हुनुहोस्। जनताको समस्याभन्दा आफ्नो टाइमलाइन व्यवस्थित राख्नु नै आधुनिक राजनीतिको पहिलो सर्त हो। सबै चाडपर्वमा शुभकामना दिन कहिल्यै नबिर्सनुहोस्। दसैँ, तिहार, होली, छठ, ल्होसार, क्रिसमस मात्रै होइन, औँसी, पूर्णिमा, एकादशी, गाईजात्रा आदि कसैलाई थाहा नभएका तिथिसम्म पनि “सम्पूर्णमा हार्दिक शुभकामना” लेख्न तयार रहनुहोस्। तपाईं आफैँले त्यो पर्व किन मनाइन्छ भन्ने नजाने पनि शुभकामना दिनु राजनीतिक संस्कारको महत्वपूर्ण अङ्ग हो। नेताहरू, तिनका सन्तान, नातिनातिना, ज्वाइँ, बुहारी—जसको जन्मदिन आए पनि तुरुन्त शुभकामना दिनुहोस्। यदि कतैबाट नेतालाई सामान्य रुघाखोकी लागेको खबर पनि आयो भने ढिला नगरी “गेट वेल्ल सून, आदरणीय नेता ज्यू!” लेखिहाल्नुहोस्। आखिर राजनीतिक निष्ठा संकटको बेला नै देखाउनुपर्छ।
धार्मिक संस्कारको सम्मान गरेको देखाउन बेलाबेला पूजा, व्रत, श्राद्ध, तर्पण, तीर्थयात्रा वा टीका थापेको फोटो पनि पोस्ट गर्नुहोस्। सार्वजनिक रूपमा वैज्ञानिक चिन्तनको भाषण दिनुहोस् तर घरभित्रका संस्कारहरूलाई सामाजिक सञ्जालमा सजिलै बिर्सनु हुँदैन। छवि बहुआयामिक हुनुपर्छ।
कला र संस्कृतिप्रति आफ्नो सम्मान पनि समय–समयमा प्रदर्शन गर्नुहोस्। कहिलेकाहीँ “मकैबारी दर्याम दर्याममा आधुनिक पहिरन लगाएर रमाइलो नृत्य गरेको भिडियो पोस्ट गर्नुहोस्। क्याप्सनमा “हाम्रो मौलिक संस्कृतिको संरक्षण” लेख्न भने नबिर्सनुहोस्। त्यसैगरी पाँचतारे होटल, महँगा रिसोर्ट वा आफ्नै भव्य निवासमा भोजन गरिरहेको फोटो पनि नियमित रूपमा राख्नुहोस्। तपाईंसँग कुनै जागिर, व्यापार वा उद्योग नभए पनि फोटो हेर्नेहरूले राजनीति भनेको समृद्धिको सबैभन्दा छोटो बाटो रहेछ भन्ने प्रेरणा पाउनुपर्छ। कार्यकर्ताले पनि संघर्षको अन्तिम गन्तव्य पाँचतारे होटल नै रहेछ भन्ने विश्वास गर्न सकून्।
महँगा ब्रान्डका कपडा, बहुमूल्य गरगहना, विलासी कार र भव्य भोजमा खिचिएका तस्बिरहरू पोस्ट गर्न पनि नछुटाउनुहोस्। यस्ता फोटोहरूले एकातिर प्रतिक्रियावादीहरूको होस उडाइदिन्छन् भने अर्कोतिर ठूला घरानियाँ व्यापारीहरूलाई पनि “यिनीसँग सम्बन्ध राम्रो राख्नुपर्छ” भन्ने सन्देश दिन्छन्। यसरी समाजवादको यात्रामा पुँजीपतिहरूको मनोवैज्ञानिक सहयोग पनि जुट्न सक्छ।
उता गरिब, निमुखा र भुइँमान्छेहरूले भने चुनावका बेला “मैले पनि उहाँसँग हात मिलाएको थिएँ” भनेर गर्व गर्ने अवसर पाउनेछन्। उनीहरूको जीवनमा केही परिवर्तन नआए पनि त्यो एउटा फोटो नै उनीहरूको लोकतान्त्रिक उपलब्धि बन्नेछ। आखिर आजको डिजिटल राजनीतिमा विचार, संगठन र संघर्षभन्दा बढी महत्त्व फोटो, क्याप्सन र प्रतिक्रियाको हुन्छ। सामाजिक सञ्जालमा तपाईं जति सम्पन्न, प्रभावशाली र सर्वव्यापी देखिनुभयो, वास्तविक जीवनमा त्यति हुनु आवश्यक छैन। आधुनिक राजनीतिको सफल सूत्र यही हो—पहिले छवि बनाऊ, त्यसपछि वास्तविकता आफैँले त्यसको पछि दौडनेछ।
भाषणका लागि आवश्यक शब्दहरू के तयार पार्ने?
खानदानी घरानियाँ र सुकिला–मुकिलाहरूको अत्यधिक संगतले तपाईंको बोल्ने शैली “बिग्रिन” सक्छ। कतै खानदानी घरानियाँ भाषा बोल्ने बानी पर्यो भने राजनीतिक करियरमै असर पर्न सक्छ। त्यसैले बेलाबेला आफ्नो शब्दकोशलाई “क्रान्तिकारी रिफ्रेस” गरिरहनुहोस्।
भाषणमा किसान, मजदुर, भुइँमान्छे, सर्वहारा, जनपक्षीय, क्रान्ति, मुक्ति, वर्गसंघर्ष, छलाङ, क्रमभङ्ग, परिवर्तन, रूपान्तरण, जनआन्दोलन, शोषण, उत्पीडन, परिवर्तनको लहर जस्ता शब्दहरू पटक–पटक दोहोर्याइरहनुहोस्। यी शब्दहरूको अर्थ आफैँलाई स्पष्ट नभए पनि श्रोताले तपाईं गम्भीर वैचारिक बहस गरिरहनुभएको ठान्नेछन्। यी शब्दहरू अहिले नै कण्ठ पार्नुहोस्, किनकि चुनाव नजिकिँदा यिनै शब्दहरू भाषणका मुख्य मसला बन्नेछन्। आखिर पाँच वर्ष मौन बसे पनि चुनावी मञ्चमा “सर्वहारा”, “किसान”, “मजदुर” र “परिवर्तन” भन्ने शब्द पर्याप्त पटक उच्चारण गर्न सकियो भने जनताको स्मृतिमा आफू फेरि क्रान्तिकारी देखिन सकिन्छ।
राहतको कुरा के छ भने हिजोजस्तो अब धेरै शब्द सम्झिनुपर्ने झन्झट छैन। सामन्तवाद, विस्तारवाद, दलाल पुँजीवाद, संशोधनवाद, व्यक्तिवाद, अवसरवाद, सम्झौतावाद जस्ता शब्दहरू अहिले प्रायः संग्रहालयमा थन्किएका पुराना राजनीतिक सन्द्रभबिहिन भइसकेका छन्। भाषणमा यिनको प्रयोग नगरे पनि कसैले खोजी गर्ने छैन।
त्यसैगरी सांस्कृतिक विचलन, वैचारिक स्खलन, सैद्धान्तिक विच्युति, नैतिक अधःपतन वा दर्शनको संकट जस्ता विषयबाट सकेसम्म टाढै रहनुहोस्। यस्ता विषय उठ्न थाले भने आलोचनात्मक चेत भएका मानिसहरूले अनावश्यक प्रश्न सोध्न थाल्छन्। त्यसैले यस्ता बहसलाई जन्मिनुअघि नै नस्लबन्दी गरिदिनु नै बुद्धिमानी हुन्छ।
विशेष गरी वर्तमान परिवेशमा राजनीतिक दर्शन, आदर्श, सिद्धान्त, कार्यक्रम वा वैचारिक प्रतिबद्धताबारे बहकिने गल्ती नगर्नुहोस्। ती विषयले अनावश्यक जिम्मेवारी सिर्जना गर्छन्। बरु विकास, समृद्धि, सुशासन, परिवर्तन, युवाको सपना, उज्ज्वल भविष्य र नयाँ नेपालको पुराना भाषणहरू पुनः प्रयोग गर्नुहोस्। शब्द नयाँ हुनुपर्दैन स्वर मात्रै जोशिलो भए पुग्छ। याद राख्नुहोस्, आजको राजनीतिमा शब्दको गहिराइभन्दा स्वरको उचाइ महत्त्वपूर्ण हुन्छ। भाषण सकिएपछि कसैले तपाईंले के भन्नुभयो भनेर सम्झिँदैन; तर कति पटक “जनता”, “परिवर्तन” र “क्रान्ति” भन्नुभयो भन्ने कुरा भने तालीसँगै इतिहासमा सुरक्षित रहन्छ।
होस गरेर मोज गर्न के गर्ने, के नगर्ने?
राजनीतिमा रमाइलो पनि गर्नुपर्छ, मोज पनि गर्नुपर्छ। तर होस पुर्याउनुपर्छ। किनकि पार्टीबाहिरका दलाल र बिचौलियासँग देखापर्यो भने तपाईंमाथि भ्रष्टाचार, सेटिङ र कमिसनको आरोप लाग्न सक्छ। चारित्रिक रूपमा बदनाम र सांस्कृतिक रूपमा स्खलित हुँदै जाँदा जनताले अनावश्यक प्रश्न पनि सोध्न थाल्न सक्छन्। त्यसैले जोखिम किन मोल्ने?
सबैभन्दा पहिले, सर्वसाधारण जनतासँग चुनावको बेलाबाहेक सकेसम्म सुरक्षित दूरी कायम गर्नुहोस्। चुनाव सकिएपछि उनीहरूलाई पाँच वर्षसम्म “व्यस्त छु”, “बैठकमा छु” वा “अहिले काठमाडौंबाहिर छु” भन्ने लोकतान्त्रिक उत्तर दिँदै जानुहोस्।
दलाल र बिचौलियालाई भने पार्टीबाहिर भौँतारिन नदिनुहोस्। उनीहरूलाई पार्टीभित्रै उचित सम्मान, जिम्मेवारी र अवसर दिनुहोस्। बाहिर बस्दा उनीहरू “दलाल” कहलिन्छन्; पार्टीभित्र छिरेपछि “सल्लाहकार”, “समन्वयकर्ता”, “विशेष आमन्त्रित”, “विज्ञ” वा “शुभचिन्तक” जस्ता सम्मानित उपाधिले चिनिन थाल्छन्।
विवाह, भोज, जन्मदिन, रिसेप्सन, गोप्य छलफल वा कुनै पनि “अनौपचारिक” भेटघाट गर्नुपरेमा सर्वसाधारणको पहुँचभन्दा धेरै टाढा रहेको महँगो होटल, लक्जरी रिसोर्ट वा निजी क्लब रोज्नुहोस्। जहाँ पत्रकार पुग्न गाह्रो होस्, कार्यकर्ता छिर्न नसकून् र बिल कसले तिर्यो भन्ने प्रश्न उठ्ने वातावरण नै नबनोस्।
याद राख्नुहोस्—जनतासँग धेरै घुलमिल भयो भने उनीहरूले रोजगारी, शिक्षा, स्वास्थ्य, सुशासन र विकास माग्न सक्छन्। तर दलाल र बिचौलियासँग धेरै घुलमिल भयो भने उनीहरूले केवल टेन्डर, कमिसन, नियुक्ति र पहुँचको कुरा गर्छन्। राजनीति गर्न कुन विषय बढी सहज हुन्छ- निर्णय तपाईंकै हो।
अन्त्यमा…
माथि उल्लेख गरिएका सबै “ट्रिप्स” केवल नक्कली नेता र अवसरवादी राजनीतिकर्मीहरूका लागि मात्र हुन्। जनताको पीडालाई आफ्नै पीडा ठान्ने, आदर्श र सिद्धान्तको राजनीति गर्ने, शहीद, बेपत्ता, घाइते, अपाङ्ग तथा भुइँमान्छेको हितमा इमानदारीपूर्वक निरन्तर सक्रिय रहने नेता तथा कार्यकर्ता (यदि अझै बाँकी छन् भने) ले कृपया यी सुझावहरूको दुरुपयोग नगर्नुहोला। यदि यो लेख पढ्दा आफ्नै अनुहार देखिएजस्तो लाग्यो भने त्यो संयोग मात्र नहुन पनि सक्छ।
वि.सं.२०८३ असार २१ आइतवार १८:४० मा प्रकाशित






























