काठमाडौं । रुस र युक्रेनबीच ६ महिनाभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ । सन् २०२२ को फेब्रुअरी २४ मा रुसले पहिलो पटक युक्रेनमाथि आक्रमण गरेको थियो । त्यसयता दुई देशबीच युद्ध जारी छ । युद्धका कारण दुवै देशमा जनधनको ठूलो क्षति भएको छ भने विश्वभर नै महँगी बढेको छ । युक्रेनले ‘नर्थ एट्लान्टिक सन्धि संगठन’ (नेटो)को सदस्य बन्ने भनेपछि रुसले आक्रमण गरेको थियो ।
फेबु्रअरीदेखि चलेको युद्ध रोकिने अवस्थामा देखिन्न । पछिल्लो समय रुसी नियन्त्रित क्षेत्रलाई फिर्ता गर्ने अभियानमा युक्रेन देखिएको छ । युक्रेनले थुप्रै क्षेत्रबाट रुसी सेनालाई फिर्ता पनि पठाएको छ । तथापी, पश्चिमी युक्रेनका महत्वपूर्णं भागहरु खेअर्सन, डोन्बास, मारिऊपोल, डोनेट्स्क, लुहान्स्कालगायत पूर्णं रुपमै रुसको नियन्त्रणमा छ । पश्चिमी मुलुकको सहयोग पाएको युक्रेनले उक्त क्षेत्रबाट पनि रुसी सेनालाई खेद्न थालेको छ ।
युक्रेनले यसबीचमा रुसी सेनाले कब्जा गरेको ३ हजार बढी क्षेत्रफल पुनः फिर्ता लिएको जनाएको छ । राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले गत बिहीबार गरेको सम्बोधनमा उक्त कुराको दाबी गरेका थिए । उनले बाँकी भूभाग पनि फिर्ता लिइने बताएका थिए ।
पछाडि हट्दैछ रुसी सेना
पछिल्लो समय युक्रेनले तीव्र गतिमा गरेको प्रत्याक्रमणसँगै रुसी सेनाहरु पछि हटेका छन् । महत्वपूर्णं मानिएका कुपियान्स्क सहरबाट शनिबार मात्रै रुसी सेना पछि हटेको थियो । रुसी रक्षा मन्त्रालयले जनाएअनुसार उनीहरु इन्ज्यूमतिर गएका छन् । कुपियान्स्कबाट बाहिरिएको रुसी सेना अर्को महत्वपूर्णं सहर बालाक्लियाबाट पनि फिर्ता भएको छ । जसलाई रुसले भने डोनेट्स्कको मोर्चा बलियो बनाउन फिर्ता भएको बताएको छ ।
इन्ज्यूम सहर रुसको लागि निकै महत्वपूर्णं मानिएको थियो । रुस उक्त सहरलाई नै केन्द्रीत बनाएर युक्रेनमा सैन्य कारबाही चलाएको थियो । इन्ज्यूमबाट बाहिरिँदै गर्दा रुसले “थप क्षति हुन नदिन” फिर्ता गरेको बताएको छ । उसले विपक्षीलाई हराएको पनि दाबी गरेको छ ।
महत्वपूर्णं शहर खार्किभमा पनि रुस निकै कमजोर देखिएको छ । रुसले खार्किभको धेरै क्षेत्रमा नियन्त्रण गुमाइसकेको छ । यद्यपी रुसले स्थानीयनलाई उक्त क्षेत्र खाली गर्न भनिरहेको देखिन्छ ।

कसरी सफल भयो युक्रेन ?
रुससँगको युद्धमा युक्रेन एक्लो छैन । उसलाई पश्चिमा साझेदार मुलुकहरुले ठूलो मात्रामा सैन्य सहयोग गरेका छन् । पछिल्लो समय युक्रेन बलशाली देखिनुमा पनि पश्चिमी मुलुकहरुको सहयोग मुख्य हो । राजधानी किभलाई कब्जामा लिएको रुस त्यहाँदेखि ४१० किलोमिटर पछि फर्किँदै खार्किभसम्म पुगेको छ । तथापी खार्किभको धेरै भूभागमा पनि रुसले नियन्त्रण गुमाएको छ ।
पश्चिमा मुलुकले पछिल्लो सफलतालाई उत्साहपूर्णं र छक्क बनाउने खालको भनि टिप्पणी गरेका छन् । बेलायतले युक्रेनको सफलताबाट रुस छक्क परेको भनि टिप्पणी गरेको छ । “रुसी फौजहरु छक्क परेको हुनुपर्छ”, बेलायतको रक्षा मन्त्रालयले भनेको छ, “पछिल्लो सफलताले युक्रेन पुरानै अवस्थामा फर्किने सम्भावना बढाएको छ, युक्रेन सेनाहरु रुसी कब्जामा रहेका अन्य सहरलाई पनि फिर्ता गराउन सफल हुनेछन् ।”
युक्रेनले पछिल्लो समय कसरी उच्च खालको सफलता प्राप्त गर्दैछ, यो बहसको केन्द्रमा छ । कतिपयले युक्रेनले प्राप्त गरेको अत्याधुनिक हतियारको कारण रुसले हार व्यहोरेको बताएका छन् । पश्चिमी मुलुकको सहायतामा युक्रेनले अत्याधुनिक खालका ड्रोनहरु प्राप्त गरेको छ । अमेरिकासँगै टर्किमा बनेका केही अत्याधुनिक ड्रोन युक्रेनी सेनाका लागि निकै महत्वपूर्णं हतियार बनेका छन् ।
युक्रेनले युद्धमा क्षेप्यास्त्र नै बोेक्न मिल्ने टीबीटू लडाकु ड्रोनको निकै प्रयोग गरेको छ । जसबाट निकै ठूला सफलता पनि प्राप्त गरेको देखिन्छ । युक्रेन युद्धमा मध्यस्तताको भूमिकामा देखिएको टर्कीले नै युक्रेनलाई ठूलो मात्रामा ड्रोन दिएको छ । टीबीटू लडाकु ड्रोन पनि टर्कीले नै उपलब्ध गराएको ड्रोन हो । ड्रोन उत्पादनमा निकै अगाडि देखिएको टर्कीले युक्रेनको स्वतन्त्रताको लागि सहयोग गरेको बताएको छ ।
टर्कीले युक्रेनलाई सहयोग गर्दै गर्दा रुस भने एक्लीएको छ । रुसलाई सहयोग गर्ने आश्वासन दिएको चीनले पछिल्लो समय हात पछाडि तानेको छ । पछिल्ला अत्याधुनिक हतियार नपाएसँगै रुसका लागि युद्ध कठिन बनेको तर्क विश्लेषकहरुको छ । एजेन्सीहरूकाे सहयाेगमा
वि.सं.२०७९ भदौ २७ सोमवार १४:३७ मा प्रकाशित
























