काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले भारतले दार्चुलामा सडक निर्माण गर्ने क्रममा गराएको विष्फोटमा एक बालकको ज्यान गएको घटनाप्रति प्रधानमन्त्री शेरबहादुर देउवा मौन रहेको आरोप लगाएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भारतले सडक निर्माण गर्ने दार्चुलाको व्यास गाउँपालिका–२ का बालक पवन महराले ज्यान गुमाएको घटनाले आफु दुःखी भएको बताउँदै जयसिंह धामीलाई मारिएको घटनामाजस्तै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ? भन्ने प्रश्न गरेका छन् ।
‘नेपालसँगको सीमा क्षेत्रमा भारतले सडक विस्तार गर्दा दार्चुलाको व्यास गाउँपालिका–२ का बालक पवन महराले ज्यान गुमाएको घटनाले अत्यन्त दुःखी छु । ढुंगा लागेर १४ वर्षीया बालिका सरिना महरा सहित स्थानीय नागरिक घाइते भएका छन्,’ अध्यक्ष ओलीले भनेका छन्, ‘घटनाको तत्काल छानविन गरी सत्यतथ्य बाहिर ल्याउन, दोषीमाथि कारवाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्दछु । तुइन काटेर गतवर्ष जयसिंह धामीलाई मारिएको घटनामाजस्तै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?’
वि.सं.२०७९ कात्तिक १२ शनिवार १५:१२ मा प्रकाशित






























