
काठमाडौं । नेकपा (एकिकृत समाजवादी)को स्थायी कमिटीको बैठक आज पनि बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा शनिबारदेखि सुरु भएको बैठकमा केही नेताले धारणा राख्न बाँकी रहेकोले आज पनि ११ बजेदेखि बैठक बस्ने भएको हो ।
पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार शनिबार १८ जना नेताले आ–आफ्नो धारणा राखेका थिए । जसमा केहीले पार्टी सरकारमा नगइ बलियोरुपमा प्रतिपक्षका रुपमा बसेर भ्रष्टाचार, सामाजिक विकृती तथा ढिला सुस्तीका विरुद्ध एक हुनुपर्ने धारणा राखेका थिए भने केहीले सरकारमा गएर प्रभावकारी रुपमा जनताको सेवा गर्नुपर्ने बताएका थिए । साथै संगठन सुदृढीकरणमा लाग्नुपर्नेलगायतका भिन्न–भिन्न धारणा राखेका थिए ।
त्यस्तै आजको बैठकमा वर्तमान सरकारका विषयमा, बामपन्थी एकता, आगामी दिनमा पार्टीलाई अगाडि बढाउन रणनीति तथा सङ्गठन निर्माणका कार्ययोजनालगायतका विषयमा छलफल हुने समेत खतिवडाले बताएका छन् ।
एकिकृत समाजवादीका अध्यक्ष नेपालले यसअघि देशमा उत्पन्न नयाँ राजनीतिक परिस्थिति अनुसार आफु अगाडि बढ्ने बताउदै आएका थिए भने प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई भेटेर आफ्नो नेतृत्वको सरकारमा सहभागी हुन अनुरोध गरेका थिए ।
वि.सं.२०७९ पुस १७ आइतवार १०:०४ मा प्रकाशित