बर्दिया । बिमा दाबी गर्ने मनासयले एक व्यक्तिले आफ्नै गाडीमा डिजेल खन्याएर जलाएका छन् ।
मधुबन नगरपालिका–२ गंगापटुवा बस्ने रामु चौधरीलाई आफै लु.२ ख २०८४ नम्बरको फोर्स गाडीमा आगजनी गरेको अभियोगमा सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
मधुबन नगरपालिका–४ बसन्तास्थित माचड चोकदेखि भुरिगाउँ जोड्ने पक्की सडकमा गएराति उक्त गाडीमा आगलागी भई पूर्ण रूपमा जलेर नष्ट भएको पाइएको थियो ।
ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा उक्त गाडीका चालक चौधरीलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनको संलग्नता रहेको खुल्न आएको हो ।
माघ २० गते उक्त गाडी बिग्रिएकोले मर्मतको लागि ग्यारेजमा लगेको र मर्मत गर्न बढी रकम लाग्ने हुँदा चौधरीले बिमा दाबी गर्ने मनसायले गाडीलाई आइतबार राति उक्त स्थानमा लगेर डिजल छर्की आगो लगाएका प्रहरीले जनाएको छ ।
वि.सं.२०७९ फागुन १ सोमवार १७:२० मा प्रकाशित






























