काठमाडौं । तेस्रो राष्ट्रपति बन्नका लागि प्रतिस्पर्धामा रहेका रामचन्द्र पौडेल र सुवास नेम्वाङले एकअर्कालाई शुभकामना दिएका छन् । बिहीबार बिहान संसद् भवन बानेश्वरमा मतदानपछि दुवैले अंकमाल गरी शुभकामना दिएका हुन् ।
पौडेल र नेम्वाङले एक अर्कालाई शुभकामना दिँदै जसले जिते पनि गणतन्त्र र संविधानको जित हुने बताए। लोकतान्त्रिक व्यवस्था ल्याउन दुवै जना सँगै लडेको भन्दै पौडेलले नेम्वाङ्गको प्रशंसा गरे ।
“संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था ल्याउनका लागि उहाँको पनि मेरो भन्दा कम भूमिका छैन” पौडेलले भने, “यो निर्वाचन भनेको प्रकृया मात्र हो। हामीले लोकतन्त्रका विधि पुर्याएका हौँ। यो संविधान र गणतन्त्रको पुनः जित हो।”
त्यस्तै, अर्का उम्मेदवार नेम्वाङले पनि पौडेल लोकतान्त्रिक योद्धा रहेकोले जसले जिते पनि संविधान र कानुनको जित हुने बताए। उनले भने, “उहाँ लोकतान्त्रिक प्रकृयामा निरन्तर क्रियाशील राजनीतिज्ञ हुनुहुन्छ। हामी जो जिते पनि संविधानको पक्षमा, कानुनको शासनको पक्षमा उभिन्छौँ। सिङ्गो देशलाई एकताबद्ध रुपमा अघाडि बढ्छौँ ।”
मुलुकको तेस्रो राष्ट्रपति चयनको लागि बिहान १० बजेदेखि मतदान सुरु भएको छ। दिउँसो ३ बजेसम्म चल्ने मतदानमा ८७९ जना मतदाताले मतदान गर्ने छन्। कुल ८८४ मतदातामा ३ जनाको पद रिक्त र २ जना उपचारर्थ चीन र भारतमा रहेका छन्।
निर्वाचनमा कांग्रेसका पौडेललाई नौ दलको साथ छ भने एमालेका नेम्वाङलाई आफ्नो पार्टीको मात्रै भर छ । जसको कारण प्रारम्भिक अवस्थामा पौडेल बलिया देखिएका छन् ।
निर्वाचन आयोगले मतदान सकिएको बढीमा चार घण्टाभित्र परिणाम आइसक्ने जनाइएको छ ।
वि.सं.२०७९ फागुन २५ बिहीवार ११:४९ मा प्रकाशित




























