
काठमाडौं । आगमी बैशाख १० गते हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कसैसँग पनि गठबन्धन नगर्ने निर्णय गरेको छ ।
सो पार्टीको शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले बैशाख १० गते हुने तनहुँ १, चितवन २ र बारा २ मा हुने उपनिर्वाचनमा गठबन्धन विना नै निर्वाचनमा भागलिने निर्णय गरेको छ ।
बैठकले तीनवटै क्षेत्रमा तनहुँमा सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, चितवनमा उपसभापति डोलप्रसाद अर्याल र बारामा केन्द्रीय सदस्य गणेश कार्कीको नेतृत्वमा निर्वाचन परिचालन समिति समेत बनाएको महामन्त्री डा. मुकुल ढकालले जानकारी दिएका छन् ।
गत मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तनहुँ १ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति, बारा २ बाट जनता समाजवादी पार्टीबाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएको तथा चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित रवी लामिछाने नागरिकता विवादमा परेका कारण ती तीन क्षेत्रमा बैशाख १० गते उपनिर्वाचन हुन लागेको हो ।