हाच्छिउको अनुभव सबैले गरिरहेकै हुन्छन् । तर, हाच्छिउ किन र के कारणले आउँछ ? त्यो भने धेरैलाई थाहा हुँदैन ।
हाच्छिउ आउँदा एकैपटक शरीर सक्रिय हुने, निन्द्रा हराउने र मानिसले फ्रेसको अनुभव गर्ने गरेको पाइन्छ । तर, यो बारम्बार भएमा भने मानिसका निम्ति समस्या पनि बन्छ । नियमित र बढी भएमा उपचारकै खोजी गर्नुपर्ने अवस्था पनि बन्छ ।
हाम्रो शरीरको मांशपेशीबाट फोहोरहरु बाहिर पठाउनको लागि नाकबाट मस्तिष्कमा सन्देश आउँछ । यो सामान्य प्रक्रिया हो । हाच्छिउ गर्दा छाती, पेट, डायफ्राम, गलाको पछाडी र आँखाको प्रयोग गरिन्छ । यी सबै मिलेर काम गरी नराम्रो पदार्थलाई बाहिर निकाल्ने गर्छन् ।
हाच्छिउ मानवमा धेरै पटक हुने प्रक्रिया हो, जसमाथि हाम्रो कुनै नियन्त्रण नै हुन सक्दैन । के कारणले छिऊ आउँने गर्छ त त्यसकोबारेमा आज हामी चर्चा गर्दैछौं ।
वास्तवमा हाच्छिउले हाम्रो प्रतिरोध क्षमता देखाउँछ, कुनै प्रकारको फोहोर नाकको माध्यमबाट प्रवेश गरी शरीरमा हानी पुर्याउने भएमा शरीरभित्र नपुग्न र संक्रमण फैलन नदिनकोे लागि हाच्छिउ आउनु आवश्यक छ । यसले शरीरको प्रतिरक्षा प्रणाली मस्तिष्कको माध्यमबाट काम गर्छ र हाच्छिउको माध्यमबाट यी अनावश्यक कणहरुलाई बाहिर निकाल्ने काम गर्दछ ।
जब हामी हाच्छिउ गर्छौं सास फेर्ने क्रममा पोलेको पनि अनुभुति हुन्छ । पोलिरहेको अनुभुति भित्री झिल्लीमा पनि हुन्छ । जसले हाम्रो स्नायु प्रणालीलाई पनि उत्तेजित गर्दछ ।
एक पटक छिऊ गर्दा हाच्छिउको गति १५० किलोमिटरभन्दा बढी हुने अनुमान गरिएको छ । हाच्छिउ आउने बित्तिकै हाम्रो फोक्सोले मुख र नाकको माध्यमबाट हावालाई द्रुत गतिमा छोडिदिन्छ ताकी नली वा नाकको अवरोध हटाउन सकिन्छ ।
कहिलेकाँही कोही मानिसहरुको नाक अति नै संवेदनशिल हुन्छ, जसको कारण हल्का धुलो वा एलर्जीको कारण लगातार हाच्छिउ आउँछ । निन्द्रामा तपाईलाई छिऊ आउन सक्दैन, निन्द्रामा प्रतिरक्षा प्रणालीको कार्य कम हुन्छ र उक्तसमय मांशपेशीहरुको आराम गर्ने समय हो । एजेन्सीको सहयोगमा
वि.सं.२०८० जेठ २ मंगलवार १३:२१ मा प्रकाशित