काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले विपन्नका लागि निःशुल्क उपचार गराएको विवरण नदिने ६८ स्वास्थ्य संस्थालाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
यसअघि महानगरभित्र संचालित अस्पताल तथा स्वास्थ्य संस्थाहरुसँग निशुल्क उपचार गर्नुपर्ने लगायतका स्वास्थ्य सुविधाहरु उपलब्ध गराउने सम्बन्धमा जेठ ६ गते विवरण माग गरेकोमो ६८ संस्थाले विवरण नबुझाएपछि मेयर बालेनले यस्तो चेतावनी दिएका हुन् ।
सर्वसुलभ स्वास्थ्य उपलब्ध गराउने र विद्यमान कानुन अनुसार नागरिकले पाउने स्वास्थ्य सम्बन्धी छुट सुविधाहरु उपलब्ध गराउने विषयमा विवरण नबुझाएका अस्पतालका बारेमा स्वास्थ्यमन्त्री मोहन बस्नेतको ध्यानाकर्षण गराइएको पनि मेयर बालेनले उल्लेख गरेका छन् ।
‘स्वास्थ्यमा सर्वसाधारणको पहुँच अभिवृद्घि गर्दै सबैका लागि सर्वसुलभ स्वास्थ्य उपलब्ध गराउने र विद्यमान कानुन अनुसार नागरिकले पाउने स्वास्थ्य सम्बन्धी छुट सुविधाहरु उपलब्ध गराउने तर्फ माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गराउँदै काठमाडौँ महानगरपालिकाले छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरुको संलग्न विवरण अनुसार नियमन र कारबाही गर्न अनुरोध गरेको छौ ।’ उनले भनेका छन् ।
मेयर बालेनले यदि स्वास्थ्य मन्त्रीले ७ दिन भित्र उनीहरुलाई कानुनी दायरामा नल्याएमा अस्पताल प्रशासन बन्द गर्न बाध्य हुने समेत उनले चेतावनी दिएका छन् ।
‘यदि मन्त्रीज्यूले ७ दिनभित्र उहाँहरुलाई कानुनी दायरामा ल्याउनु भएन भने हामी अस्पताल प्रशासन बन्द गर्न बाध्य हुनेछौ ।’ उनले भनेका छन् ।
वि.सं.२०८० जेठ १७ बुधवार १०:५४ मा प्रकाशित






























