back
CTIZAN AD

पैयुँ आधारभूत अस्पतालमा एक्स–रे सेवा सुरु

वि.सं.२०८० जेठ २० शनिवार

909 

shares

पर्वत । पर्वतको दक्षिण भेगको पैयुँ गाउँपालिकामा सञ्चालित आधारभूत अस्पतालमा डिजिटल एक्स–रे सेवा सुरु गरिएको छ।

पूर्व स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीको पहलमा यहाँ रहेको आधारभूत अस्पतालमा स्वास्थ्य सेवा विभागमार्फत मोबाइल डिजिटल एक्स–रे मेशिन प्राप्त भएसँगै सेवा सुरु गरिएको हो। शुक्रबार आयोजित एक कार्यक्रमबीच पूर्वस्वास्थ्यमन्त्री गिरीले गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरीलाई उक्त मेशिन हस्तान्तरण गरे।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गत पथलैया स्टोर, बाराले रू एक करोड ४४ लाख ८२ हजार एक सय ६६ मा खरिद गरेको मोबाइल डिजिटल एक्स–रे मेशिन अस्पताललाई हस्तान्तरण भएलगत्तै बिरामीलाई सेवा दिन थालिएको अध्यक्ष ठकुरीले जानकारी दिए।

गाउँपालिकामा डिजिटल भिडियो एक्स–रे सुविधा नहुँदा स्थानीय स्याङ्जा, पोखरा र पाल्पा जानुपर्ने बाध्यता थियो। स्थानीयस्तरमै डिजिटल सेवा पाउने भएपछि स्थानीय खुसी भएका छन्। एक्स–रे सेवाबाट पैयुँ, महाशिला र विहादी गाउँपालिकाका नागरिक प्रत्यक्ष लाभान्वित हुने छन्।

अध्यक्ष ठकुरीका अनुसार यसै सातादेखि सञ्चालनमा आएको आधारभूत अस्पतालबाट चौबिसै घन्टा आकस्मिक सेवासहित गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह, फार्मेसी सेवालगायत सेवा प्रदान भइरहेका छन्। “अबदेखि एक्स–रे सेवा पनि अस्पतालमा हुनेछ”, उनले भने। अध्यक्ष ठकुरीले पालिकास्तरीय आधारभूत अस्पतालका लागि आवश्यक पूर्वाधार तथा जनशक्तिको अभाव हुन नदिने बताए। उनले नागरिकको स्वास्थ्यप्रति पालिका गम्भीर रहेको उल्लेख गरे।

अस्पताल नहुँदा अहिलेसम्म यस क्षेत्रका नागरिक सामान्य उपचारका लागि पनि स्याङ्जाको वालिङ, बुटवल, पाल्पा, पोखरालगायत सहरमा जान बाध्य भएका थिए। पालिकामै आधारभूत अस्पतालको सेवा शुभारम्भ भएपछि यहाँका नागरिकले राहतको महसुस गरेका छन्।

“यस क्षेत्रमा अस्पताल नहुँदा यहाँका नागरिकहरु सानो चोटपटक लाग्दा पनि अन्यत्र जान बाध्य थिए”, पैयुँ गाउँपालिका–१ टकलाकका वडाअध्यक्ष मीनप्रसाद न्यौपानेले भने, “अब पालिकावासीको हितमा विकास निर्माण र स्वास्थ्य सेवाका कार्यक्रमलाई प्रभावकारी रुपले अघि बढाइनेछ।”

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर आधारभूत अस्पताल स्थापना गर्ने सरकारको निर्णयअनुसार अस्पताल निर्माण गरिएको बताए। भौतिक पूर्वाधार बनिनसकेको अवस्थामा मौजुदा पूर्वाधार र मौजुदा जनशक्ति र अन्य जनशक्ति पालिकाका तर्फबाट ब्यहोर्ने गरी यहाँका जनताको आवश्यकता, चाहना र स्वास्थ्य सेवालाई दृष्टिगत गरेर सेवा शुभारम्भ गरेको उनको भनाइ छ।

अत्याधुनिक सुविधासहित स्वास्थ्य सेवा दिने गरी जनशक्ति व्यवस्थापन गर्ने पालिकाले जनाएको छ। पर्वतको सदरमुकाम कुश्माबाहेक अन्य छ पालिकामा आधारभूत अस्पताल निर्माण भइरहेको छ। रासस

वि.सं.२०८० जेठ २० शनिवार १५:५९ मा प्रकाशित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...