काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विचार बिना पार्टी निर्माणको लहर चलेको बताएका छन् । मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
“राजनीतिक पार्टीहरु समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्छन्, तर अहिले एउटा लहर चलेको छ, विचार नचाहिने”, उनले भने, “बिना विचार लिएर हामी आयौं भन्ने लहर चलेको छ ।”
उनले पूर्वजले गरेको योगदानलाई बिर्सिने अवस्था बनेको बताए । समाज पूर्वज र आमाबाबुलाई सम्मान नगर्ने अवस्थातर्फ उन्मुख रहेको उनको भनाई छ ।
“योगदान सम्झनु जरुरी छैन, बिर्सिए हुन्छ योगदान । योगदानको के मतलब छ ?”, ओलीले भने, “कसलाई फुर्सद छ योगदानका कुरा गर्ने ? कसलाई फुर्सद छ पूर्वज र आमाबाबुको योगदानको चर्चा गर्ने ? भन्ने खालका विचारहरु पनि आज सुनिन्छ ।”
मौलिकताबिनाका आन्दोलन सफल नहुने ओलीको भनाई छ । विचार बिना खोलिएका दलहरु विस्तारै आफैं हराउने पनि उनले बताए ।
वि.सं.२०८० असार १४ बिहीवार १७:२१ मा प्रकाशित






























