back
CTIZAN AD

यसरी पर्यटकको मन तान्दैछ ‘लोदेन’

वि.सं.२०८० साउन १३ शनिवार

678 

shares

सन्तोष पुर्कुटी, ताप्लेजुङ । जो कोहीलाई पनि दैनिक जीवनको चहलपहल र कोलाहलबाट केही दिन, केही समय टाढै बसौँ लाग्छ । प्रकृतिसित रमाउने सबैको रहर हुन्छ । प्रकृतिसित रमाउँदै पदयात्रा गर्ने इच्छा चाहना कसको हुन्न र ? शान्त परिवेश खोज्दै हुनुहुन्छ भने ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङस्थित लोदेन क्षेत्र तपाइका लागि आकर्षक गन्तव्य हुन सक्छ । जहाँ विभिन्न जातीय संस्कार, संस्कृति र परम्परालाई बुझ्दै र अनुभव गर्दै पुग्न सकिन्छ । पापुङको प्रवेशद्वारका रुपमा रहेको साँवास्थित फुङफुङे झरनाको अवलोकन गर्दैै पैदल यात्रा गरी पुगिने लोदेनमा दर्जनौँ पोखरी छन् ।

ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट फुङफुङे झरनासम्म सवारीसाधन नियमित चल्छन् । उक्त झरनादेखि पैदल यात्रा गर्नुपर्छ । फुङफुङे झरनादेखि हिँडेपछि बेलुकी बास बस्न शेर्पा समुदायको बाक्लो बसोबास रहेको सिम्बुकमा पुगिन्छ । जहाँ शेर्पा समुदायको संस्कार र संस्कृतिलाई नजिकबाट अनुभव गर्न पाइन्छ ।

सिम्बुकमा होटल छैनन् । तर शेर्पा समुदायले त्यहाँ पुगेका पाहुनालाई जातीय परम्पराअनुसार स्वागत सत्कार गरी राख्छन् । परम्परागत शैलीमा बनेका घरभित्र ओछ्याइएका गलैँचाले जति न्यानो बनाउँछ उति नै उनीहरुको जातीय स्वागत सत्कारले हर्षित बनाउँछ । शेर्पा तथा भोटे समुदायले पुगेका पाहुनालाई खादा ओढाएर स्वागत गर्छन् भने सबैभन्दा पहिले उक्त समुदायमा प्रचलित चिया अर्थात् (सोज्या) पटक पटक थपेर खुवाउँछन् । ताप्लेजुङमा प्रचलित तोङ्वा, सुकुटी लगायतका शेर्पा समुदायले खाने परिकार यहाँ पाइन्छ ।

यस्तै उक्त समुदायमै प्रचलनमा रहेको (धुन्ज्याङ) अर्थात् परम्परागत नाचगान र खानपान सहितको स्वागत कार्यक्रममा समेत सहभागी भई रमाउन पाइन्छ । धुन्ज्याङ विशेष गरी पाहुनाको स्वागतका लागि भोटे तथा शेर्पा समुदायमा चलनमा छ । सिम्बुक बस्तीमा शेर्पा समुदायको संस्कार, संस्कृतिभित्र रमाएपछि यहाँबाट बिहानै लोदेनको यात्रा सुरु हुन्छ । सिम्बुकका प्रायः मानिसका गोठ लोदेनमै भएकाले लोदेनमा पुग्दा बास बस्न सहज हुन्छ । सिम्बुकबाट आवश्यक परे यहाँका मानिसले नै लोदेनसम्म पु¥याई दिन्छन् ।

सिम्बुकदेखि धेरैजसो खोला किनारै किनार भएर झन्डै १० घण्टाको यात्रामा लोदेन खर्क पुगिन्छ । टेलिफोन, इन्टरनेटको पहुँचभन्दा बाहिरको यस क्षेत्रको यात्रा जो कसैका लागि अविस्मरणीय हुन्छ । कतै अग्ला पहाडका चुचुरा, कतै तराईका झँै लाग्ने फाँट, छङछङ गर्दै बग्ने खोला, खोल्सा, हिमाली चराचुरुङ्गीको गुञ्जन, वारिपारि देखिने सानाठूला झरना, सयौँ प्रजातिका वनस्पति र फूलले ढाकिएको प्रकृतिको सुन्दरता भित्र रमाउँदै यात्रा गर्दा प्रकृतिप्रेमीका लागि स्वर्गकै आभाष हुने गर्छ ।

“दुर्गम हिमाली क्षेत्रको यात्रामा सावधानी अपनाउनुपर्छ”, यहाँ घुम्न आउनुभएका कास्कीको पोखराका रमेश गुरुङले भने, “उच्च क्षेत्रमा चिसो, लेक लाग्नेलगायत समस्या छन्, यसलाई ध्यानमा राखेर औषधि र बाक्लो लत्ताकपडा बोक्नुपर्छ ।” भनेको ठाउँमा खाजा, खाना नपाइने, बिरामी भइहालेमा औषधि नपाइने भएकाले उक्त चुनौतीको सामना गर्न पूर्वतयारी गरेर यात्रा गर्नुपर्ने उनको भनाइ छ ।

सिम्बुकदेखि लोदेन खर्क नपुग्दासम्म हरेक एक घण्टाको दूरीमा प्रायः पाटीपौवा भेटिन्छन् । तिनै पाटीपौवामा आराम गर्दै साँझपख लोदेन खर्क पुगिन्छ । दिनभर हिँड्दाको थकान लोदेन खर्कको सुन्दरताले बिर्साइदिन्छ । दिनभर चरन क्षेत्रमा घुमेर गोठ नजिकै पुगेर उभिएका याक र चौँरी देख्दा लाग्छ आफूलाई नै स्वागत गर्न उभिएका होलान् । याक र चौँरीका गलामा रहेका घण्टी यताउति गर्दा टिङटिङ बजिरहेका हुन्छन् । तिनै पशुचौपायाको सुरक्षामा राखिने कुकुर भुकिरहन्छन् ।

“साँच्चिकै यो वातावरण लोभलाग्दो छ”, चितवनबाट घुम्न आएका विकास लामिछाने भन्छन्– “लोदेन क्षेत्रमा पशुपालकको आतिथ्यता सम्झिनलायक छ ।” गोठमा तातोपानी खुवाएर उनीहरुले स्वागत गर्छन् । यहाँका गोठमा खान र बस्न पाइन्छ । गोठालासँगै बास बस्नुपर्ने हुन्छ । “उनीहरुसित बस्दाको मज्जा छुट्टै छ । यो क्षेत्र घुम्न लायक छ”, उनले भने ।

करिब चार हजार मिटरको उचाइमा पर्ने लोदेन क्षेत्रमा सानादेखि ठूला दर्जनौँ पोखरी छन् । सुनपोखरी, लामपोखरी, कुहिने पोखरी अर्थात् (छ्योथाङ्गा), हाँस पोखरीलगायत पोखरीको यहाँ अवलोकन गर्न पाइन्छ । पोखरी आसपासमा केन्जो अर्थात् पदमचाल पनि छ । यहाँका पशुपालकले नै यो क्षेत्रमा घुम्न सहयोग गर्छन् । हिमाली क्षेत्रमा पाइने धुपी सल्ला, सुनपाती, भैरुङपातीको सुगन्ध त छँदैछ । तिनै पशुपालकले यार्सागुम्बा सङ्कलनको अनुभवसमेत सुनाउँछन् । सुनपोखरीबाट लाम पोखरीतर्फ जाँदा ताप्लेजुङस्थित पाथीभरा, मानाभारा, लुम्बासुम्बा, तोक्पेगोलाको तीनपोखरी रहेको क्षेत्रसमेत नियाल्न पाइन्छ । पापुङ जिल्लाको सबैभन्दा धेरै पोखरी रहेको क्षेत्र हो ।

पापुङका उच्च क्षेत्रहरु पोखरीले भरीभराउ छन् । जति जति घुम्यो उति नै सानाठूला पोखरीको अवलोक गर्न पाइने स्थानीय पानदोर्जी शेर्पाले बताए । सोदु पोखरी र भूत पोखरी पनि पापुङमै अवस्थित छन् । सयजरा, जटामसी, बिखमा, यार्सागुम्बा लगायतका जडीबुटी र विभिन्न जातका धुपी यहाँ पाइन्छन् । लोदेन हुँदै फक्ताङलुङ गाउँपालिकामा पर्ने ओलाङ्चुङगोला जान सकिन्छ । लोदेन क्षेत्रमा उत्पादन हुने दूधजन्य पदार्थ, जडीबुटी ओलाङचुङगोला हुँदै तिब्बत निर्यात हुने गरेको छ । यसरी सयौँ पोखरीले भरिभराउ पापुङ क्षेत्रको प्रचारप्रसारसँगै यहाँ पुग्न आवश्यक भौतिक संरचनाको निर्माण गर्न सके पर्यटकको आगमन बढ्ने स्थानीय बताउँछन् ।

लोदेनसहित पापुङमै पर्ने तोक्पेगोला सहितका क्षेत्र पर्यटकलाई आकर्षित गर्ने पर्यटकीय क्षेत्रका रुपमा देखिए पनि प्रचारप्रसार र भौतिक संरचनाको अभावले गुमनाम जस्तै बनेको पर्यटन प्रवद्र्धनमा सहयोग गर्दै आएका हेमराज निरौलाले बताए । निरौला लोदेन सहितका जिल्लाका पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा केही वर्ष यतादेखि निरन्तर लाग्दै आएका छन् छ । “प्रचारप्रसार पनि पर्यटन प्रवद्र्धनको मुख्य पाटो रहेछ, पटक पटक पापुङमा पुग्दा प्रचारप्रसारका गतिविधि चलाइयो, आजकल थुप्रै आन्तरिक पर्यटक घुम्नकै लागि जान थालेका छन्, तर प्रचारप्रसारले मात्र पुग्दैन, पैदल मार्गको निर्माणसँगै अन्य भौतिक संरचना निर्माणमा सबै निकायले ध्यान दिन आवश्यक छ”, निरौलाले भने ।

पापुङ पोखरी नै पोखरी भएको क्षेत्र भएकाले यसलाई मुलुकै नमूना पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डण्डु शेर्पाले बताए । गुमनाममा रहेको पापुङ केही वर्षदेखि केही प्रचारप्रसारमा आएको उल्लेख गर्दै उनले यहाँको विकासमा सङ्घ र प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए । गाउँपालिकाभित्र फुङफुङे झरना सहितका थुप्रै पर्यटकीय क्षेत्र भएकाले स्थानीय सरकारले आफ्नो क्षमता अनुसारका गतिविधि गर्दै आएको र सङ्घीय सरकारसँग समेत पर्यटन प्रवद्र्धनका लागि छलफल भइरहेको उनले बताए ।

प्रायः शेर्पा समुदायको बसोबास रहेको हिमाली क्षेत्र पापुङ प्राकृतिक, सांस्कृतिक र जैविक विविधताले भरिपूर्ण भएकाले पर्यटन प्रवद्र्धनमा यस क्षेत्रले सहयोग पुग्ने स्थानीयवासीको विश्वास छ । पशुपालन व्यवसायसमेत यो क्षेत्रमा उल्लेख्य छ । पशुपालनसँगै जडीबुटी सङ्कलन तथा व्यापार यस क्षेत्रका मानिसको मुख्य पेसा हो । दुर्गम क्षेत्रका रुपमा लिइँदै आएको पापुङको तोक्पेगोला पुग्न सदरमुकामबाट दुई दिनको समय लाग्छ । यहाँबाट लोदेन पुग्न दुई दिन लाग्छ ।

 

वि.सं.२०८० साउन १३ शनिवार १८:५४ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...