
काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा नै उच्च आम्दानी गरेको छ । महानगरले चालु आर्थिक वर्षको साउन महिनामा ६५ करोड ४२ लाख ३० हजार ३७९ राजश्व संकलन गरेको छ । महानगरले विभिन्न २५ शिर्षकमा राजश्व तथा गैरकर राजश्व संकलन गर्दै आएको छ ।
चालु आर्थिक वर्षको साउनमा महानगरले संकलन गरेको राजश्व गत आर्थिक वर्ष २०७९/८० को सोहि अवधिको तुलनामा ४५.०७ प्रतिशतले बढी हो । महानगरले गत वर्षको साउनमा ४५ करोड नौ लाख ८९ हजार ३३६ रुपैया आम्दानी गरेको थियो ।
त्यस्तै अलिेको आर्थिक वर्ष २०७८/७९ को साउन महिनाको तुलनामा ५०.२८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा महानगरले ४३ करोड ५३ लाख ४३ हजार ९७१ रुपैयाँ राजश्व संकलन गरेको थियो ।
आर्थिक वर्ष २०७७/७८ को साउनमा महानगरले २६ करोड ३९ लाख ५३ हजार ७१६ रुपैयाँ राजश्व संकलन गरेको थियो । सो आर्थिक वर्षको साउनको राजश्व संकलन चालु आर्थिक वर्षको साउनको तुलनामा १४७.८६ प्रतिशतले कम हो ।
यसरी हेर्दा आर्थिक वर्ष २०७७/७८, २०७८/७९ र २०७९/८० को साउन महिनामा महानगरले संकलन गरेको राजश्व रकम एक अर्ब १५ करोड २ लाख ८७ हजार २४ रुपैंयाँ देखिन्छ । जुन चालु आर्थिक वर्षको साउनको भन्दा ७५.८२ प्रतिशतले मात्र बढी हो ।
कसरी सम्भव भयो राजश्व संकलन
महानगरका अनुसार आर्थिक वर्षको पहिलो महिनामा नै यति धेरै राजश्व संकलन भएको पहिलो पटक हो । महानगरले चालु आर्थिक वर्षमा राजश्व नीतिमा परिवार्तन गर्दै करको दायरा बृद्धि गर्ने नीति अख्तियार गरेको छ । त्यस्तै वडा सदस्यको नेतृत्वमा कर सचेतना कार्यक्रम संचालन हुनु, बेरुजुको फछ्र्यौट तथा बक्योता असुलीमा तिब्रता, कर परिक्षण कार्यको संचालन, महानगर प्रहरीबाट निरन्तर बजार अनुगमन हुनु जस्ता कारणले राजश्वमा भारि बृद्धि भएको महानगरकको भनाइ छ ।
महानगरले चालु आर्थिक वर्षको साउनमा मात्र करिब १४ लाख रुपैंया बेरुजु फछ्र्यौट गरेको छ । त्यस्तै उसले सेवा शुल्क वापत झण्डै साढे तीन करोड, नक्सापास वापत झण्डै सात करोड र व्यवसाय दर्ता वापत झण्डै आठ करोड राजश्व संकलन गरेको छ ।