काठमाडौँ । ‘काठमाडौँ महानगरपालिका एक विभागीय प्रमुखले लामो समयदेखि दुरुपयोग गर्दै आएको गाडी शुक्रवार बरामद’ भन्दै विभिन्न सञ्चार माध्यमहरूमा प्रकाशित समाचार भ्रामक भएको तथ्य बाहिरिएको छ । यो विषयमा संसार न्युजले सत्य तथ्य पत्ता लगाउने प्रयास गरेको थियो । महानगरपालिका उच्च स्रोतका अनुसार काठमाडौँ महानगरको फोहोर मैला व्यवस्थापनको विषयमा महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेसँग भएको टसलका कारण विभागीय प्रमुखको गाडी बरामद गरेर बेइज्जती गर्न खोजिएको रहस्य बाहिर आएको छ ।
यस्तो छ वास्तविकता
काठमाडौँ महानगरपालिकाले ईयूले अनुदानमा दिएको ‘बि एए ४८२०’ नम्बर प्लेटको मारुती सुजकी कार कार्यालय समयमा बालाजुस्थित ती प्रमुखको निवासबाट बरामद गरेको थियो । महानगर उच्च स्रोतका अनुसार ती विभागीय प्रमुखले प्रयोग गर्दै आएको गाडी बेइज्जत गर्ने मनसायले बरामदको नाटक मञ्चन गरी मिडियाबाजी गरेको आरोप छ । स्रोतले समाचारमा उल्लेख गर्न खोजिएका विभागीय प्रमुख महानगरका एक इमानदार र कर्मठ कर्मचारीका रूपमा चिनिँदै आएको समेत उल्लेख गरेको छ ।
‘महानगर प्रहरी प्रमुख राजु पाण्डे र ती विभागिय प्रमुखको कुरा मिल्दैन थियो । फोहोर मैला ठेक्का लाउने विषयमा लगानी बोर्डले गरेको प्रक्रिया टुङ्गोमा पुगेपछि अर्को प्रक्रियामा जाऊँ भन्ने ती विभागीय प्रमुखको मत थियो ।’ स्रोतले भन्यो, ‘विभागीय प्रमुख कार्यालय प्रायोजनका लागि हिँड्ने गाडी घरमा छोडेर फोहोर मैलाको अनुगमनमा निस्कनु भएको थियो । फोहोर मैला ठेक्कामा लगाउने विषयमा उहाँले गरेको प्रस्ताव अस्वीकार गर्नेहरूले मौका छोपी नाटकीय शैलीमा घरमा छोडेको गाडी उठाएर समाचार छाप्न लगाएका हुन् ।’
काठमाडौँ महानगरका सडकमा दैनिक तीन सय बढी मानिस नियमित काममा हुन्छन् । तीनको परिचालन, वडाका कर्मचारीको कार्यसम्पादन, टेकु ट्रान्सफर, सिस डोल, बन्चरे लगायतका ठाउँको नियमित अनुगमन लगायतका काम एक विभागीय प्रमुखको दैनिकी नै हो । यति नगरे महानगरलाई यत्तिको सफा गर्न निकै गाह्रो पर्ने देखिन्छ ।
केही खराब मानिसको पृष्ठपोषणमा सार्वजनिक बेइज्जत गरेर आनन्द लिने जमातको काम भएको महानगरका कर्मचारीहरू नै बताउँछन् । स्रोतले संसारन्यूजसँग भनेको छ, ‘अब यिनले गरेको काम कसले हेर्ने ? सामाजिक रूपमा मिडियामा बेइज्जत गरेर आफ्नो अभीष्ट पूरा गर्नेहरू क्रमशः चुनावदेखि नै भ्रम जित्न सफल भएको यो अर्को उदाहरण हो ।’
को हुुन् पाण्डे ?
महानगर प्रहरी प्रमुुख राजुनाथ पाण्डेको विगत त्यति राम्रो नभएको कर्मचारीहरू बताउँछन् । करिब दुई वर्ष अगाडी मेयरमा निर्वाचित भएपछि अहिलेका मेयर बालेन्द्र साहले तत्कालीन प्रहरी बलका प्रमुख धनपति सापकोटालाई हटाएर पाण्डेलाई नियुक्त गरेका थिए ।
प्रहरी प्रमुखमा नियुक्त भएपछि उनी एकाएक चर्चामा आएका थिए । चर्चामा आए पनि उनले गरेको बदमासीको अनुगमन कसैले नगरेको महानगरका कर्मचारीहरूले बताउने गरेका छन् । महानगरका एक पूर्व कर्मचारीले पाण्डेले कति बदमासी गरेका छन् भन्ने कुरा उनको सम्पत्ति छानबिन गर्दा पत्ता लाग्ने बताए ।
वि.सं.२०८१ असार ७ शुक्रवार १३:५४ मा प्रकाशित






























