काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मलेसियामा रहेको भनिएका सहकारी ठगी प्रहरी प्रकरणमा प्रहरीले खोजी गरिरहेका जीवी राई किन पक्राउ नपरेको भन्दै प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले चितवनमा पुगेर दिएको जीबी राईको मलेशियाको लोकेशन पत्ता लागिसको अभिव्यक्ति बारे उनले यस्तो प्रश्न गरेका हुन् ।
‘गृहमन्त्रीले चितवन पुगेर भन्नु भयो म मलेसियाका गृहमन्त्रीसँग सम्पर्कमा छु र जीबी राईको लोकेशन पत्ता लागिसकेको छ । एउटा फरार अभियुक्त कहाँ छन् भनेर देशले खोजिरहेको बेलामा अर्को देशको गृहमन्त्रीले हामीले लोकेट गरिसक्यौ भनेर भन्छन्,’ महामन्त्री शर्माले भने, ‘सामाजिक संजाल चलाउन उनलाई पनि आउँछ । सामाजिक संजालमा नेपालमा गृहमन्त्रीसँग कुरा भएको भनेर लेख्छन् । गोपनियता खोल्दैनन् । तर हाम्रा गृहमन्त्रीले गोप्य सूचना मिडियामा विस्कुन लगाउनु हुन्छ ।’
उनले गोर्खा मिडियाका संचालक एकजना फरार रहेको र एकजना गृहमन्त्री नै रहेको भन्दै भने,‘सहकारी ठगीमा फरार रहेको व्यवसायी साथीलाई सहकारी ठगीमै अनुसन्धानको दायरामा रहेका गृहमन्त्रीले गिरफ्तार गर्नुछ । त्यसैले लोकेशन पत्ता लागिसक्यो भनेर माइकबाट फुक्नुको अर्थ के हुन्छ ?’
देशलाई जीबी राईको लोकेशन होइन उनी चाहिएको भन्दै उनले भने,‘ अब त्यो लोकेशनमा काार्पेट ओछ्याएर बल्ल दुई पक्षीय वार्ता हुने हो ? गृहमन्त्रीले लोकेशन पत्ता लाग्यो भनेर भनेको चारदिन भयो, प्रतिपक्षमा हुँदा उहाँले भन्नु भयो सरकारले पक्रनै चाहेन । पक्रिन चाह्यो भने यत्रो समय किन लाग्यो भनेर सोध्नु भयो । लोकेशन पत्ता लागिसकेपछि पनि चारदिन किन लाग्छ ?’
वि.सं.२०८१ असार ९ आइतवार १३:४३ मा प्रकाशित






























