काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका भूभाग भोगाधिकारका लागि पहल गरिरहेको बताएका छन् ।
मङ्गलवार प्रतिनिधि सभामा परराष्ट्र मन्त्रालयको मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
उनले नेपाल–भारतका दुई पक्षीय संयन्त्र क्रियाशील गराएर समस्या समाधानका लागि पहल गरिरहेको भन्दै महाकाली पूर्वको सबै भूभाग नेपालको हो भन्ने कुरामा सरकार दृढ र स्पष्ट रहेको बताए ।
‘नेपाल सरकार नेपाल–भारतको सुगौली सन्धि १८१६ बमोजिम लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत महाकाली पूर्वको सबै भूभाग नेपालको हो भन्ने कुरामा दृढ र स्पष्ट छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।
आफूले भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा समस्या समाधानको विषयमा भारतीय समकक्षीसँग विषय राखेको र सकारात्मक प्रतिक्रिया पाउँदै आएको बताए । नेपालको सीमाका विषयमा नेपालीहरूका बिचमा अभूतपूर्व राष्ट्रिय सहमति कायम रहेको पनि उनले बताए ।
वि.सं.२०८१ असार ११ मंगलवार १३:०२ मा प्रकाशित






























