३१ वैशाख, काठमाडौँ । मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान (काहुरास्ट) नेपालले आज सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । संस्थाका महासचिव मीना शर्माद्वारा जारी विज्ञप्तीमा आजको निर्वाचन केही छिटपुट घटनाहरु बाहेक समग्रमा शान्तिपूर्ण रुपमा सम्पन्न जनाइएको छ । विज्ञप्तीमा नयाँ संविधान जारी भएपछि सम्पन्न स्थानीय तहको यो निर्वाचनमा जनताको उत्साहप्रद सहभागिता रहेको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ “निर्वाचन अघि दोलखा, गोरखा, पोखरा लगायतका केही ठाउँमा भएको झडपका घटना र निर्वाचनको दिन अत्यन्त नजिक रहँदा पनि राजनीतिक वृत्तमा बढेको तनाबले निर्वाचन हुनेमा जनता विश्वस्त हुन सकेका थिएनन् । अन्यौलका बीच पनि निर्वाचन तुलनात्मक रुपमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।”
विज्ञप्तीमा निर्वाचन अघि वैशाख २६ गते दोलखाको गौरीशंकर गाउँपालिका १ जुगु दहबारीमा भएको दोहोरो झ्डपमा ज्यान गुमाएका कुलबहादुर तामाङ, दोलखाकै मैलुङ गाउँपालिका पओटीमा १ सतेश्वर मावि स्थित मतदान केन्द्रमा प्रहरीको गोली लागेर दिनेश भुजेलको निधन भएकोमा दुःखसमेत व्यक्त गरिएको छ ।
निर्वाचनमा भाग लिने दलहरुबीचमा भएका झडपले निर्वाचनलाई पूर्ण शान्तिपूर्ण एवम् भयमुक्त हुन नसकेता पनि शान्ति सुरक्षाको व्यवस्था, निर्वाचन तयारी र व्यवस्थापन सन्तोषजनक रहेको बताइएको छ । यद्यपी मतपत्र लामो हुँदा मतदान गर्न तथा पट्याएर बाकसमा खसाल्न झन्झट रहेको उल्लेख छ ।
लोकतन्त्रको संस्थागत विकास गर्ने क्रममा भएको यो निर्वाचनले नेपाली जनताको अधिकार स्थापना गर्न सहयोग पुग्दछ भन्ने विश्वास समेत वक्तव्यमा व्यक्त गरिएको छ ।
त्यसैगरी काहुरास्ट नेपाल मतगणनामा पनि कुनै विवादको स्थिति सिर्जना नभै परिणाम सहज रुपले सार्वजनिक होस् र स्थानीय तहको दोस्रो चरणको निर्वाचन पनि शान्तिपूर्ण सफलतापूवर्क सम्पन्न होस् भन्ने अपेक्षा व्यक्त गरिएको छ ।
वि.सं.२०७४ वैशाख ३१ आइतवार १६:२६ मा प्रकाशित






























