काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी गरेसँग अन्य दलहरु पनि आन्तरिक छलफलमा जुटेका छन् ।
यसैबीच नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका अन्य दलहरु आन्तरिक छलफलमा जुटेका छन् ।
त्यस्तै नेकपा माओवादी केन्द्रको पनि पदाधिकारी बैठक बस्दैछ ।
सोमबार मध्यराति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति गरेसँग उत्पन्न परिस्थितिका बारेमा छलफल गर्न प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पदाधिकारीको बैठक डाकेका हुन् ।
उक्त बैठकमा सरकारबाट राजीनामा दिने कि संसदमा विश्वासको मत माग्ने भन्ने विषयमा छलफल गर्ने बताइएको छ ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले दिउँसो २ बजेका लागि पदाधिकारी बैठक बोलाएको छ । सो पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार देशमा एकाएक देखिएको राजनीतिक घटनाका बारेमा समिक्षा गर्न र पार्टीले आफ्नो धारणा बनाउन पदाधिकारीको बैठक बोलाएको हो ।
उनका अनुसार बैठक केन्द्रीय कार्यालय धुमबाराहीमा बस्ने भएको हो । राप्रपा संसदमा मुख्य प्रतिपक्षी दलको रुपमा रहेको नेपाली कांग्रेसले डाकेको बैठकमा पनि सहभागी भएको थियो ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि सचिवालकोे बैठक बोलाएको छ ।
आफ्ना केही मन्त्रीसहित प्रचण्ड नेतृत्वको सरकारमा सहभागी रहेको रास्वपाले नेकपा एमाले र कांग्रेसले सहमतिको सरकार बनाउने समझदारी गरेसँगै पछिल्लो राजनीतिक परिस्थितिका विषयमा आन्तरिक छलफल गर्न बैठक बोलाएको हो ।
वि.सं.२०८१ असार १८ मंगलवार ११:४० मा प्रकाशित






























