तिम्रो सुगन्ध सुघ्ने भन्दै,
केहि मानिसहरु बगैचा कब्जाको,
रमाईलो गर्दैछन अहिले,
मलाई असाध्यै पीर छ,
कतै तिमीलाई पो निमोठछन् की ।
यति राम्रो फूल बनाउन,
सक्कली मालीले कति मेहनत गयो,
कति चिथोरीयो, कति घाउ सह्यो,
तिम्रो आत्मालाई थाहा छ सबै,
तिमी सहि बोल्न डराएनौं भने,
तिमी हुर्कीएको इतिहास पनि सत्य लेखिने हो ।
मालीमाथिका धम्की, तिमीले पनि सुनेको हो,
तिम्रो बीउ कुनै दरबारको शिरबाट ल्याएको थिएन,
अनकण्टार भीरमा मार्च गर्ने,
आँशु र रगत मिसिएको,
जनसंग्रामको बाटोमा भेटीएको थियो ।
भोकले चिरीएको पेटभित्र,
अन्यायले थिचिएको छातीभित्र,
स्वतन्त्रताको सपना बोकेको जनताको चेतनाभित्र,
आक्रोश र विवेकको सन्तुलनमा,
तिम्रो बीउ पसेको थियो ।
सत्य खोल रातो फूल,
तिमीलाई हुर्काउने हातहरु कता बाँधिएका छन्,
तिम्रो सक्कली माली कता प्रताडित छ,
तिम्रो यति सुन्दर ज्यानमाथि,
स्वार्थका किराहरू हिँडिरहेको बेला,
उसले कसरी हेरेको होला ?
त्यागको इतिहास बेचेर,
सत्ताको सिंहासन सजाउनेहरूले,
तिमीलाइ हलक्क देखाउन,
चर्को बिषादी छरेजस्तो छ,
उनीहरुलाई तिम्रो मौलीकता किन चाहिन्थ्यो र ।
उनीहरु फूलको सुगन्धमा होइन,
केवल रंगमा हौसिरहने र मस्तिमा तैरीने खेलाडी हुन,
जनताको आत्मासँग जोडिएको तिम्रो सक्कली माली,
ठुलो ठक्कर र अपहरणबाट फेरी मुक्त हुन्छ,
वर्ग प्रेमका लागि उ जुरुक्क उठ्छ ।

वि.सं.२०८३ जेठ १५ शुक्रवार १०:२७ मा प्रकाशित

























