काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको विनाशकारी पहिरोबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको छ।
पार्टीका प्रवक्ता प्रकाश ज्वालाद्वारा जारी प्रेस विज्ञप्तिमा २०८३ साउन २७ गते साँझदेखि भएको भारी वर्षाका कारण रोल्पा जिल्लाको थवाङ गाउँपालिका–५ उवा कोटलबारा गाउँ तथा सुनछहरी–२, फलबाङमा गएको विनाशकारी पहिरोले ठूलो मानवीय तथा धनसम्पत्तिमा क्षति पु¥याएकोप्रति हाम्रो पार्टी नेपाली कम्युनिष्ट पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाइएकाे छ ।
थवाङ गाउँपालिका–५ उवा कोटलबारा गाउँमा पहिरोमा पुरिएका १३ जनामध्ये ११ जनाको मृत्यु पुष्टि भएको र २ जना अझै बेपत्ता रहेको नेकपाले जनाएको छ। त्यस्तै, सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोमा परी एक जनाको मृत्यु भएको र ३ जना बेपत्ता रहेको विज्ञप्तिमा उल्लेख छ।
दुवै स्थानमा गरी हालसम्म १२ जनाको शव फेला परेको, ५ जना बेपत्ता र २ जना घाइते रहेको पार्टीले जनाएको छ। पहिरोका कारण दर्जनौँ पशुचौपाया, घर, गोठ, पसललगायत ठूलो धनसम्पत्तिमा समेत क्षति पुगेको जनाइएको छ।
नेकपाले पहिरोमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
खोजी तथा उद्धारमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधि, राजनीतिक दलका कार्यकर्ता तथा स्थानीयवासीप्रति पार्टीले धन्यवाद व्यक्त गरेको छ। साथै बेपत्ताको थप खोजी, उद्धार, घाइतेको उपचार तथा विस्थापितको पुनर्स्थापनामा सक्रिय रूपमा जुट्न सम्बन्धित सबै पक्षलाई अपिल गरेको छ।
नेकपाले मृतकका परिवारलाई आवश्यक राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन, जोखिमयुक्त बस्तीमा थप क्षति हुन नदिन तत्काल सावधानी अपनाउन तथा पीडितहरूको उद्धार र विस्थापितको पुनर्स्थापनाका लागि प्रभावकारी कदम चाल्न सरकारसँग जोडदार माग गरेको छ।
दीर्घकालीन रूपमा जोखिममा रहेका स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा पुनर्वासको व्यवस्था गर्नुपर्नेमा समेत पार्टीले जोड दिएको छ। साथै पीडित परिवारलाई राहत, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार र पुनर्स्थापनाका लागि आवश्यक सहयोग तथा पहल गर्ने प्रतिबद्धता नेकपाले जनाएको छ।
वि.सं.२०८३ साउन २९ शुक्रवार १६:०८ मा प्रकाशित





























