काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा उपस्थित गराउन आदेश दिएको छ। बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले यस्तो आदेश दिएको हो।
श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले काठमाडौँ जिल्ला अदालतसमेतलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी थिइन्। उक्त निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले निवेदकको मागबमोजिम आदेश जारी हुनुपर्ने वा नपर्ने आधार र कारणसहित लिखित जवाफ पेश गर्न विपक्षीका नाममा आदेश दिएको छ।
सर्वोच्चले २०८३ भदौ १ गते बिहान १० बजेभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत सशरीर बन्दीसहित लिखित जवाफ पेश गर्न आदेश दिएको छ।
त्यस्तै, सोही दिन इजलाससमक्ष श्रेष्ठलाई उपस्थित गराएर फिर्ता लैजाने गरी उनीविरुद्ध परेको जाहेरी दरखास्तसहितको अनुसन्धान फाइल पनि लिएर आउन आदेश दिइएको छ। अदालतले श्रेष्ठको घर तथा कार्यालयबाट बरामद गरिएको कम्प्युटर, ल्यापटप, आइप्याड र मोबाइल लगायतका सामग्रीसमेत इजलासमा पेश गर्न भनेको छ।
सर्वोच्चको आदेशमा विपक्षीहरूले तोकिएको अवधिभित्र लिखित जवाफ पेश गरे वा अवधि व्यतीत भएपछि मुद्दालाई नियमानुसार पुनः इजलाससमक्ष पेश गर्न भनिएको छ।
आदेश २०८३ साउन २९ गते न्यायाधीश बालकृष्ण ढकालको इजलासबाट जारी भएको हो।
पत्रकार श्रेष्ठलाई बुधबार साँझ किाठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले घरैबाट पक्राउ गरेको थियो । उनलाई पक्राउ गरेसँगै जनआस्था साप्ताहिको कार्यालय तथा घरमा समेत छापामारी कम्प्युटर तथा मोबाइलहरु जफत गरिएको छ । नेपाल पत्रकार महासंघ लगायत विभिन्न क्षेत्रबाट श्रेष्ठको रिहाइको माग गरिरहेका छन् ।

वि.सं.२०८३ साउन २९ शुक्रवार १३:४० मा प्रकाशित






























