काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले आफ्नो प्रतिवेदन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पेश गरेको छ। मन्त्रालयका अनुसार स्वास्थ्यकर्मीको सुरक्षा र स्वास्थ्य संस्थासम्बन्धी कानुनी व्यवस्थालाई थप प्रभावकारी बनाउन गठित तीनमध्ये एउटा कार्यदलले प्रतिवेदन बुझाएको हो भने बाँकी दुई कार्यदलले पनि छिट्टै प्रतिवेदन पेश गर्नेछन्।
मिति २०८३ साउन १५ गते गठन भएको कार्यदलले १५ दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश पाएको थियो। सोही कार्यादेशअनुसार कार्य सम्पन्न गरी तयार पारिएको प्रतिवेदन मन्त्रालयमा बुझाइएको हो।
कार्यदललाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ को दफा २, ३ र १५ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा २३२ र २३३ मा आवश्यक संशोधनका सम्बन्धमा अध्ययन गरी सुझावसहित प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको थियो।
मिति २०८३ साउन १३ गते स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका मन्त्री तथा अन्य सरोकारवाला मन्त्रालयका पदाधिकारी र नेपाल चिकित्सक संघका पदाधिकारीबीच भएको बैठकको निर्णयअनुसार कार्यदल गठन गरिएको थियो।
कार्यदलको संयोजकमा स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. पवन जंग रायमाझी रहेका थिए। सदस्यहरूमा वरिष्ठ अस्पताल नर्सिङ प्रशासक बाला राई, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका शाखा अधिकृत दिपेश खनाल, नेपाल चिकित्सक संघका डा. विश्वराज दवाडी, डा. संयुक्त आचार्य र डा. राकेश शाह रहेका थिए। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका कानून अधिकृत सुरेश प्रसाद चौलागाईं सदस्य–सचिव थिए।
कार्यदलले आफूलाई जिम्मेवारी प्रदान गरी सहयोग गर्ने मन्त्री, सचिवलगायत मन्त्रालय परिवारप्रति आभारसमेत व्यक्त गरेको छ।
वि.सं.२०८३ साउन २९ शुक्रवार १३:०३ मा प्रकाशित






























