काठमाडौँ । भोटेकोसी तथा आसपासका बाढी–पहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ। यसैक्रममा आज मात्र थप १३ जनाको हवाई उद्धार गरिएको छ ।
नेपाली सेनाका अनुसार आज साँझ ७ बजेसम्म विभिन्न प्रभावित क्षेत्रबाट थप १३ जनाको हवाई उद्धार गरिएको हो। यससँगै नेपाली सेनाले हवाई साधनमार्फत हालसम्म २ सय ७३ जना विदेशी नागरिकसहित कुल ३ हजार ९ सय ३५ जनाको उद्धार गरिसकेको छ।
उता, टनेलभित्र फसेकाहरूको खोजीका लागि विभिन्न जलविद्युत् आयोजनामा संयुक्त टोली परिचालन गरिएको छ।
लाङटाङ हाइड्रोमा विदेशीसहित २५ जनाको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र करिब २ सय मिटर प्रवेश गरी दुई स्थानमा साना होल बनाएर खोजी गरिरहेको छ। सो टनेलबाट हालसम्म २ वटा शव फेला परेका छन्।
त्यस्तै, चिलिमे हाइड्रोमा पनि नेपाली तथा विदेशी उद्धारकर्मी सम्मिलित टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ।
त्रिशूली–१ मा ९३ जनाको संयुक्त टोलीले विभिन्न उपकरण प्रयोग गरी टनेलको आउटलेटमा भरिएको लेदो, ढुङ्गा र बालुवा हटाउँदै करिब ३० मिटरभित्र प्रवेश गरेको छ। टनेलभित्र फेला परेको ठूलो ढुङ्गा ब्लास्टिङ गरी बाटो खुलाउने तथा टनेल सफा गर्ने कामसमेत भइरहेको छ।
त्यसैगरी त्रिशूली–बीमा नेपाली सेना, गैरसैनिक जनशक्ति तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोलीले आयोजनाको कार्यालय र निवाससम्म पुग्ने बाटो बनाउन डोजर तथा अन्य उपकरण प्रयोग गरिरहेको छ। टोलीले करिब ४ सय २६ मिटरभित्र प्रवेश गरी खोजी कार्य अघि बढाएको छ।
माथिल्लो त्रिशूली–१मा पनि आयोजनाका इन्जिनियरसहितको टोलीले रबर बोटमार्फत टनेलभित्र प्रवेश गरी करिब २ सय मिटर अगाडि बन्द भाग फेला पारेको छ। सो क्रममा १ शव फेला परेको नेपाली सेनाले जनाएको छ। अडिट टनेल–३ मा भने करिब १ दशमलव ८ किलोमिटरसम्म खोजी कार्य गरिएको छ।
यसैबीच, देवीघाटस्थित तादी नदीमा पुल जडानका लागि नेपाली सेनाको इन्जिनियरिङ फौजका ५५ जना परिचालन भएका छन्। पुल जडान गर्न आवश्यक सामग्री तथा संरचना गजुरीबाट त्रिशूलीतर्फ लैजाने काम भइरहेको छ।
हवाई उद्धारसँगै प्रभावित क्षेत्रका जंगल, डाँडा, खोला तथा बस्तीहरूमा नेपाली सेनाले पैदल गस्तीमार्फत खोज तथा उद्धार र स्वास्थ्य सेवा पनि सञ्चालन गरिरहेको छ।
त्रिशूली र धुन्चेमा नेपाली सेनाले स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट आज मात्रै ७३ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ। हालसम्म भने ३ हजार २ सय १५ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
त्यस्तै, मित्रराष्ट्रहरूबाट प्राप्त करिब १ हजार ९ सय किलो राहत तथा उद्धार सामग्री नेपाली सेनाका हवाई साधनमार्फत धुन्चे र त्रिशूलीमा ढुवानी गरिएको छ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन हुँदै नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा नेपाली सेनाका ९ हजार ३ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन भएका छन्।
उनीहरूले घाइते तथा प्रभावितको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक खुलाउने तथा आपत्कालीन उपचारलगायतका कामलाई समन्वयात्मक रूपमा अघि बढाइरहेका छन्।
विपद्को यो कठिन घडीमा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन नेपाली सेनासहित विभिन्न निकाय निरन्तर परिचालन भइरहेका छन्।
वि.सं.२०८३ भदौ १८ बिहीवार २०:०६ मा प्रकाशित






























